नेपाल ‘ग्रे लिस्ट’ मा हुँदा विदेशमा नेपालीलाई खाता खोल्न समस्या भयोः सासद राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले त्रिपुरेश्वरमा जलेर मृत्यु भएका बस चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले समन्वय नगरेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले मृत्यु भएका चालकको परिवारसँग समन्वय गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘ती अर्जुन दोङ तामाङको परिवारसँग सरकारले केही पनि समन्वय र वार्ता नगरेको भन्नेछ । अहिले बाहिर आएर उहाँहरू कुरिरहनुभएको छ गृहमन्त्रीज्यूसँग भेट्न, तर भित्र छिर्न पाउनुभएको छैन । यो के भएको हो ? यससम्बन्धी म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै सांसद राईले मुस्ताङको हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी नभएको र पोल्यान्डमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । राईले असोज ११ गते मुस्ताङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यमा ढिलाइ भएकोमा आपत्ति जनाए। उक्त हिम पहिरोमा खोजी कार्यका लागि गएका खोटाङ जिल्लाका तीन जना स्थानीय बेपत्ता भएका छन्। तीमध्ये एक जनाको शव भेटिए पनि अन्य दुई जना ल कुमार गुरुङ र सुरज राई अझै बेपत्ता छन्।

सांसद राईले विदेशमा कार्यरत नेपालीहरूको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। पोल्यान्डमा कार्यरत नेपालीहरूले त्यहाँका बैंकमा खाता खोल्न नपाउँदा ठुलो सास्ती भोगिरहेको उनले बताए।

उनले भने, ‘त्यहाँका बैंकहरूले जेनजी आन्दोलन पछि नेपाली श्रमिकको खाता खोल्न बन्द गरेका छन्, जसले गर्दा नेपालीहरूले कारोबार गर्न नपाइ समस्यामा परेका छन् ।’

नेपाल ग्रे लिस्ट मा रहेको भन्दै बैंकले खाता खोल्न अस्वीकार गरिरहेको र नयाँ खाता खोल्न खोज्दा नेपाली पासपोर्टको नम्बर देखाउँदा समेत समस्या भइरहेको उनको भनाइ छ। उनले परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायलाई तत्काल यसबारे कूटनीतिक पहल गरी नेपाली श्रमिकहरूको समस्या समाधान गर्न आग्रह गरे।