काठमाडौँ । नेकपा एमालेका नेता ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् ।
महरले सामाजिक सञ्जालमार्फत जबरालाई बिना प्रमाण र अभियोग पक्राउ गरिएको आरोप लगाएका छन् । उनले जबराको गिरफ्तारीलाई नेपालको प्रचलित कानून, न्याय प्रणाली, संविधान र विधिको शासनको मर्मविपरीत भएको बताएका छन् ।
उनले सरकारको कदमलाई सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाही प्रवृत्तिको संज्ञा दिँदै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।
महरले भनेका छन्, ‘हिजो राति छापामार शैलिमा एउटा अन्तर्राष्ट्रिय कुख्यात अपराधीलाईझैं गरि बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो सर्वसत्तावाद, स्वेच्छाचारिता, तानाशाहीको पराकाष्ठा हो र नेपालको संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो । यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। यस्तो प्रकारको राज्य आतंक तत्काल बन्द गरिनु पर्दछ ।’
महरले जबराको गिरफ्तारीलाई राज्य आतंकको संज्ञा दिँदै सरकारका यस्ता कार्यको विरोध र खबरदारी गर्न सबैमा अपील गरेका छन् ।

प्रतिक्रिया