पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि कांग्रेसले उठायो प्रश्न


काठमाडौँ । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीलाई लिएर सरकारसँग स्पष्टीकरण मागेको छ। कांग्रेसले गिरफ्तारीको कानुनी आधार र औचित्य स्पष्ट पार्न तथा सरकारी अधिकारीहरूबाट आएका विरोधाभासपूर्ण अभिव्यक्तिबारे प्रस्ट पार्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै जबराको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाटै सार्वजनिक भइरहेका फरक–फरक भनाइले कानुनी आधारमाथि प्रश्न उठाएको बताएका छन् ।

गिरफ्तारी कानुनसम्मत र आवश्यक भएको भए सरकारले त्यसको आधार सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारी अधिकारीहरूबाटै आइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिहरूले यो गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि नै प्रश्न उठाएका छन् । यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्दछ।’

कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा आफू बाधक नरहेको स्पष्ट पार्दै कानुन कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया अपनाउन नहुने जनाएको छ ।

राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहनुपर्ने उल्लेख गर्दै कांग्रेसले कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र नभई स्वयं कानुनको पालना गर्नु पनि भएको जनाएको छ ।

पार्टीले जबरामाथिको अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएको छ । कसैले कानुन उल्लङ्घन गरेको भए प्रमाणका आधारमा कारबाही गर्नुपर्ने र दोषी ठहरिए कानुनबमोजिम सजाय दिनुपर्ने कांग्रेसको धारणा छ ।

‘गिरफ्तारी आफैँमा दोषको प्रमाण होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यसँग शक्ति हुन्छ, तर उक्त शक्तिको प्रयोग अत्यन्त पारदर्शी, न्यायोचित र जबाफदेही हुनुपर्दछ।’

कांग्रेसले कानुन सबैका लागि समान हुने मान्यता व्यवहारमै स्थापित गर्नुपर्ने मागसमेत गरेको छ । कुनै विशेष सुरक्षा चुनौती वा असाधारण परिस्थितिका कारण गिरफ्तारी गरिएको भए त्यसको विश्वसनीय आधार जनतासमक्ष सार्वजनिक गर्नुपर्ने उसको भनाइ छ ।

संवैधानिक सर्वोच्चता र कानुनी शासनको पक्षमा अडिग रहेको उल्लेख गर्दै कांग्रेसले राणाको गिरफ्तारीबारे देखिएको अन्योल तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले गएराति महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको थियो ।