संसद्मा न्याैपानेले सम्झाए न्यायाधीशमाथि महाभियोगको प्रावधान, सरकारलाई सहयोग गर्न चेतावनी


काठमाडौं । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद यज्ञमणि न्याैपानेले अदालतले सरकारलाई सहयोग नगरेको भन्दै न्यायाधीशलाई महाभियोग लगाउने प्रावधान पनि भएको भन्दै घुमाउरो पारामा धम्की दिएका छन् ।

अलालतकै कारण अकुत आर्जन गर्नेको सम्पत्ति छानबिन गर्न नपाएको न्याैपानेले आरोप लगाए । त्यस्तै जेनजी विद्रोहमा हत्या गर्नेलाई कारबाही गर्न नदिएको, विद्यार्थीलाई राजनीति नगरी पढ भन्दा पनि त्यसो गर्न अदालतले नदिएको उनको आरोप थियो । पछिल्ला घटनाबाट अदालत परिवर्तनको पक्षमा नभएको आफू स्पष्ट भएको पनि उनले बताए ।

‘मुद्दा जितेको व्यक्तिलाई सोध्नुहोस्, त्यसले पनि यो न्यायालयले न्याय दिँदैन भन्छ,’ उनले भने, ‘यो अदालतलाई हामीले बोकेर हिँड्यौँ भने महादेवले सतिदेवी बोकेजस्तो हुन्छ । जहाँ जहाँ गयो त्यहीँ पतन हुने । सतिदेवीको मष्तिस्क कहाँ पतन भयो पत्तै छैन । त्यस्तै हुुन्छ, न्याय कहाँ पतन हुन्छ पत्तै हुँदैन । हामी सकिन्छौँ ।’

विगतमा पनि न्यायलयले परिवर्तनलाई स्वीकार नगरेको उनले आरोप लगाए । परिवर्तनलाई स्वीकार नगर्दा कांग्रेस, एमाले र माओवादी सकिएको भन्दै अब रास्वपाको पालो आउन सक्ने उनले बताए । त्यसैले अब संसद्मा न्यायलय पुनर्संरचनाको बहस सुरु गर्नुपर्ने बताए । त्यसअघि उनले रास्वपाले दुईतिहाइ ल्याएको स्मरण गराएका थिए ।

न्यायालय नफेरे व्यवस्था नयाँ अवस्था पुरानै हुने भन्दै अदालतले अन्तरिम आदेश दियो भन्दैमा चुप लागेर नबस्ने चेतावनी दिए । ‘न्यायलयका फैसला न्यायाधीशको विवेकमा बोल्न पाइँदैन, तर यसको अर्थ यो पनि होइन, यो संविधानमा रहेको महाभियोगको व्यवस्था यो संविधानको सुन्दरताका लागि मात्र होइन । विधिको शासनका लागि हो,’ उनले भने ।

अदालतका न्यायलय पनि अब थिति र विधिमा चल्नुपर्ने उनले बताए । अब अपराधिलाई सधैँका लागि कारगार पठाउन सक्ने कानून ल्याउन पनि उनले सरकारसँग माग गरे ।

उनले न्यायलयको पुनर्संरचना तत्काल सुरु गर्नुपर्ने बताए । त्यसैगरी न्यायाधीशको सम्पत्ति गोप्य राख्ने व्यवस्था पनि फेर्नु पर्ने बताए ।

उनले बोलेलगत्तै एमालेका गुरु बरालले नियमापत्ति गरेका थिए । उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई चुनौति दिन खोजिएको र न्यायालयको सन्दर्भमा अनावश्यक टिप्पण गरिएको दबी गरे । गत वर्ष भदौ २४ मा अदालतमा आगजनी गरेपछि कमजोर भएको न्यायालयलाई थप कमजोर पार्ने गरी अभिव्यक्ति आएको भन्दै उनले रेकर्डबाट हटाउन माग गरे ।

त्यसपछि फेरि न्याैपानेले हात उठाएपछि सभामुखको कुर्सीमा बसेकी रुबी ठाकुरले बोल्न समय दिइन् । उनले आफूले अदालतको पुनर्संरचनाको विषयमा मात्र कुरा उठाएको बताए ।