काठमाडौं— पहिचान पुरस्कार कोषले २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको छोटो सूची सार्वजनिक गरेको छ । कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि आठ आठ वटा उत्कृष्ट कृति छनोट गरिएको हो ।
कोषका अनुसार २०८१ र २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट एक–एक वटालाई पहिचान पुरस्कार प्रदान गर्ने गरिने छ । गत वर्ष कोषले पुस्तकलाई पुरस्कृत नगरी पहिचान सम्मान दिएका कारण यो वर्ष गत वर्षको पनि सूची सार्वजनिक गरिएको कोषले जनाएको छ ।
गत वर्ष बैरागी काइँलालाई पहिचान सम्मान गरिएको थियो । त्यसैगरी गिलुु रातोसलाई युवा पहिचान सम्मान दिइएको थियो । कोषले हरेक चार वर्ष पुस्तकलाई पुरस्कृत गरेर पाँचौँ वर्ष साहित्यमा योगदान दिएका व्यक्तिलाई पहिचान सम्मान गर्छ । पुुरस्कारको राशी पाँच लाख दुुई हजार दुुई रुपैयाँ छ । कोषले हरेक पाँच वर्षमा पुरस्कार राशी बढाउँछ ।
२०८१ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट ८ कृतिमा कोइलाखाद (उपन्यास, श्याम सिंघक), जब कविता निस्कन्छ जुलुसमा (कविता सङ्ग्रह, सुरज राना), डोलीभर्ना (कथा सङ्ग्रह, डा. चित्र माबो), दर्ज्यु संलाप (निबन्ध सङ्ग्रह कुमारी लामा), नवयुगकी सुम्निमा (कविता सङ्ग्रह, शकुन आँसु), रातो नदी (कविता सङ्ग्रह, जुनू राना), ल्यान्डस्केपमा झुन्डिएको मौनता (कविता सङ्ग्रह, खुपेन सुनुवार) र सम्मोहन( कथा सङ्ग्रह, राधिका कल्पित) छन्।
त्यसैगरी, २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट पनि ८ उत्कृष्ट कृति छनोट गरिएको छ । छनोटमा परेका कृतिमा उत्कर्ष (कथा सङ्ग्रह, ललित विष्ट), अन्तिम साँझ (कथा सङ्ग्रह, केदार संकेत), खुशीको गाउँ (उपन्यास, खगिन्द्रा खुशी), तोरकीन (उपन्यास, क्षितिज समर्पण), मध्यको उज्यालो (निबन्ध संग्रह, भुपिन), माइला दमाई (उपन्यास, राज बान्तावा), महायुग (उपन्यास, सीमा आभास) र परिधि (उपन्यास, उमा सुवेदी) छन्।

प्रतिक्रिया