विशेष महाधिवेशन कांग्रेसको चाहना नभएको नेता सिंहको दाबी, १५औँ महाधिवेशन ‘विधिसम्मत’ हुने भनाइ


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशन आफूहरूको चाहना नभएको भन्दै १४औँ महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन गर्ने बताएका छन् ।

गणेशमान सिंह स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित सिंहको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग सिंहले १५औँ महाधिवेशनको तयारीमा आफूहरु अघि बढिसकेको बताए । पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५औँ महाधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

विशेष महाधिवेशन कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न गरिएको भन्दै सिंहले विधि र नियम मिच्नु उचित नहुने धारणा राखे । राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने उनको भनाइ छ ।

न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने भन्दै उनले अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने बताए । ‘राजनीतिक मुद्दा र एजेण्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो,’ उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ ।’

बीपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उनले स्मरण पनि गरे । २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि नहटेको उनले बताए । त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भएको उनको भनाइ छ ।