प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि महरको प्रश्न


काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको मर्यादा कायम गर्ने विषयमा सरकार नै गम्भीर बन्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीबाटै प्रतिनिधिसभाको नियम उल्लङ्घन भइरहेको आरोपसमेत लगाए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद महरले सत्तापक्षबाट पटक–पटक ‘के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो ?’ भन्दै उनले सरकारसँग प्रश्न गरे । महरले सांसद युवराज दुलालले बैठकमा बोलिरहेका बेला गृहमन्त्री सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँडेको भन्दै आपत्ति जनाए ।

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ ले सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै महरले प्रधानमन्त्री र गृहमन्त्रीले समेत पटक–पटक उक्त नियम उल्लङ्घन गरेको आरोप लगाए । उनले सरकारलाई सदनको गरिमा र मर्यादा कायम गर्ने विषयमा गम्भीर बन्न आग्रह गर्दै नियम सबै पक्षले समान रूपमा पालना गर्नुपर्ने बताए ।