-श्रीराम न्यौपाने
भोटेकोसीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीले भोटेकोसी र त्रिशूली नदी आसपासमा ठूलो मानवीय, भौतिक र आर्थिक क्षति पुर्याउनुका साथै निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्याएको छ। बाढीको प्रकृति हेर्दा यो इन्जिनियरिङ भाषामा ‘One in Thousand Years Flood’ अर्थात् हजार वर्षमा एकपटक आउन सक्ने चरम बाढीको तहको घटना भन्न सकिन्छ । तर एउटा प्राकृतिक विपत्तिले नेपालमा जलविद्युत विकासको यात्रालाई रोक्नु हुँदैन । नेपाल जलस्रोतको धनी देश हो। पहाडै पहाडले बनेको हाम्रो भूगोल जलविद्युत उत्पादनका लागि चुनौती मात्र होइन, ठूलो सम्भावना र वरदान समेत हो। त्यसैले भोटेकोसीको क्षतिबाट हतोत्साहित हुने होइन, पाठ सिकेर अझ सुरक्षित, आधुनिक र दिगो पूर्वाधार निर्माणतर्फ अघि बढ्नुपर्छ।
अब जलविद्युत आयोजना निर्माण गर्दा केही विषयलाई अनिवार्य रूपमा गम्भीरतापूर्वक लिनुपर्छः
१. नेपालको हिमाली तथा पहाडी भूगोल सुहाउँदो स्पष्ट सुरुङ निर्माण मापदण्ड ( Tunnel Construction Standard) सरकारले तत्काल बनाउनुपर्छ।
२. बाँध र प्रसारण लाइनबाहेक सम्भव भएसम्म जलविद्युत आयोजनाका संरचनाहरू भूमिगत बनाउनुपर्छ ।
३. निर्माणाधीन अवस्थामै सुरुङका मुखमा आपतकालीन अवस्थामा बन्द गर्न सकिने बलिया फलामे ढोका निर्माण गर्नुपर्छ।
४. आयोजना सञ्चालनमा आएपछि कुनै पनि सुरुङको मुख खुला छाड्नु हुँदैन ।
५. मुख्य सुरुङबाहेक अन्य सुरुङको प्रवेशद्वार सम्भव भएसम्म नदीको बहावको विपरीत दिशा तर्फबाट हुने गरी डिजाइन गर्नुपर्छ।
६. मुख्यबाहेक अन्य सुरुङका प्रवेशद्वार भूगोल अनुसार कम्तीमा ३ देखि ७ प्रतिशत उकालो हुने गरी निर्माण गर्नुपर्छ।
७. पावरहाउसको माथिल्लो तलाको Elevation Level बाढीको अवस्थामा समेत सुरक्षित हुने गरी निर्धारण गर्नुपर्छ । नियमित रूपमा काम गर्ने कर्मचारीका लागि कम्तीमा ३० दिन पुग्ने खाद्यान्न, खानेपानी, अक्सिजन सिलिन्डर, ब्याट्री ब्याकअप, तापक्रम व्यवस्थापन (AC), आगलागी नियन्त्रण तथा सुरक्षा उपकरण र बाहिर–भित्र सञ्चार गर्न सकिने आपतकालीन सञ्चार प्रणाली अनिवार्य हुनुपर्छ।
८. पावरहाउसलाई अधिकतम रूपमा मानवरहित तथा स्वचालित प्रणाली (SCADA) बाट सञ्चालन गर्न सकिने प्रविधिमा लैजानुपर्छ ।
९. बाँधको डिजाइन Himalayan Intake अवधारणा अनुसार, बाढीले बगाएर ल्याउने लेदो, ढुंगा, बालुवा तथा ठूला चट्टानलाई सुरक्षित रूपमा Toppling भएर पार गराउन सक्ने गरी गर्नुपर्छ।
१०. आयोजनाको डिजाइन र Drawing एकै प्रकारको हुँदैन । आयोजनाको आकार, भूगोल, नदीको जलाधार र जोखिम अनुसार डिजाइन तथा ड्रइङमा आवश्यक परिमार्जन गर्नुपर्छ।
११. आयोजनाको Location तथा प्रत्येक संरचनाको Elevation Level छनोट गर्दा भविष्यमा आउन सक्ने चरम बाढी र अन्य प्राकृतिक जोखिमलाई केन्द्रमा राख्नुपर्छ।
१२. लाइसेन्स, उत्पादन अनुमति, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, रुख कटान, विस्फोटक पदार्थ तथा लगानी स्वीकृति जस्ता प्रक्रियामा खर्च घटाइ स्पष्ट समयसीमा तोकी १–२ वर्षभित्र आयोजना निर्माणमा जान सक्ने नीतिगत र कानुनी व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्छ।
जलवायु परिवर्तन र वातावरणीय जोखिमलाई बेवास्ता गर्ने होइन-त्यसलाई ध्यानमा राखेर ढिलाई नहुने गरी अझ सुरक्षित पूर्वाधार निर्माण गर्ने हो । भोटेकोसीको बाढीले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ-
अब जलविद्युत निर्माण रोक्ने होइन, निर्माणको शैली मात्र बदल्ने समय हो।
क्षतिबाट सिकौँ।
प्रविधि सुधारौँ।
जोखिम न्यूनीकरण गरौँ।
लगानीको वातावरण थप मजबुत बनाऔँ।
र नेपालको जलस्रोतलाई ऊर्जामा रूपान्तरण गर्ने अभियानलाई अझ तीव्र बनाऔँ। चुनौतीसँग डराएर विकास रोकिनु हुँदैन। चुनौतीको सामना गरेर विकासको गति अझ आक्रामक ढंगले अघि बढाउनुपर्छ।

प्रतिक्रिया