डब्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एकीकृत आयरल्यान्ड’को पक्षमा दिएको अभिव्यक्तिले आयरल्यान्ड र बेलायतमा तरंग सिर्जना गरेको छ । उनको दुईदिने आयरल्यान्ड भ्रमणका क्रममा आएको उक्त टिप्पणीले अमेरिकी विदेश नीतिमा परिवर्तन हुन लागेको हो कि भन्ने प्रश्नसमेत उठाएको छ ।
ट्रम्पले आयरल्यान्ड भ्रमणको पहिलो दिन पत्रकारसँगको कुराकानीमा अन्ततः आयरल्यान्ड एकीकृत हुने आफ्नो धारणा व्यक्त गरेका थिए। त्यसपछि उनले अमेरिकी राजदूतको निवासमा आयोजित कार्यक्रममा पनि यही विषय दोहोर्याए।
यद्यपि, ट्रम्प प्रशासनले आयरल्यान्डको एकीकरणलाई अघि बढाउने नयाँ नीति ल्याएको संकेत भने देखिएको छैन।
ट्रम्पको पहिलो कार्यकालमा उत्तरी आयरल्यान्डका लागि विशेष दूत रहेका पूर्व रिपब्लिकन सांसद मिक मल्भेनीले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी विदेश नीतिमा आएको परिवर्तनका रूपमा नबुझ्न आग्रह गरेका छन्।
‘यसले अमेरिकी विदेश नीतिमा कुनै परिवर्तन भएको प्रतिनिधित्व गर्दैन। हामी अझै पनि गुड फ्राइडे सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ,’ मल्भेनीले भने। डेमोक्रेटिक सांसद ब्रेन्डन बोयलले पनि अमेरिकी संसदमा उक्त सम्झौताप्रति दुवै दलको समर्थन रहेको भन्दै त्यसमा परिवर्तन नहुने बताए।
मल्भेनी र बोयल दुवैले ट्रम्पले ‘अन्ततः’ आयरल्यान्ड एकीकृत हुने भनेको कुरा सम्भवतः सही भए पनि अमेरिकाले त्यसका लागि दबाब दिन थालेको अर्थ नलाग्ने बताएका छन्।
पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको तत्कालै जवाफ दिने क्रममा आएको टिप्पणीलाई ट्रम्पले केही समयपछि पुनः दोहोर्याएका थिए। अमेरिकी राजदूतको निवासमा आयरिस तथा आयरिस–अमेरिकी व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै उनले भाषणको सुरुवातमै आयरल्यान्डको एकीकरणको विषय उठाएका थिए।
करिब २० मिनेटका लागि तय गरिएको उनको भाषण भने अपेक्षाभन्दा दोब्बर लामो भयो। सम्बोधनको अधिकांश हिस्सा आयरल्यान्डभन्दा अमेरिकी घरेलु राजनीतिक तथा अन्य आन्तरिक विषयमा केन्द्रित थियो।

प्रतिक्रिया