साउदीको तेल पाइपलाइन बन्दलगत्तै होर्मुजमा पानीजहाजमाथि आक्रमण


रोयटर्स । होर्मुज जलडमरूमार्फत यात्रा गरिरहेको एक पानीजहाजमाथि आक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप जोखिम देखिएको छ । यसअघि साउदी अरबले महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको थियो।

बेलायती नौसेनासँग आबद्ध समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार होर्मुज जलडमरू पार गर्ने क्रममा एक पानीजहाजमा प्रक्षेप्यास्त्र प्रहार भएको रिपोर्ट प्राप्त भएको छ। आक्रमणबाट भएको क्षति र चालक दलका सदस्यहरूको अवस्थाबारे भने तत्काल जानकारी प्राप्त नभएको उसले जनाएको छ।

साउदी अरबले इराकबाट ड्रोन आक्रमण भएको बताएपछि सावधानीस्वरूप आफ्नो ईस्ट–वेस्ट पाइपलाइन बन्द गरेको भोलिपल्ट होर्मुजमा आक्रमणको रिपोर्ट आएको हो। बगदाद र रियाद दुवैले ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इरानसमर्थित सशस्त्र समूहहरू इराकमा सक्रिय छन्।

मध्यपूर्वमा युद्ध विस्तार हुँदै जाँदा तेल आपूर्तिमा थप अवरोध हुन सक्ने र ऊर्जा मूल्य अझ बढ्न सक्ने आशंका गरिएको छ। पछिल्लो एक सातामा ब्रेन्ट कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

करिब १ हजार २०० किलोमिटर लामो ईस्ट–वेस्ट पाइपलाइनले पछिल्लो छ महिनादेखि मध्यपूर्वको तेल विश्व बजारमा पु¥याउने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा काम गर्दै आएको थियो। पाइपलाइनबाट दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म तेल ढुवानी हुँदै आएको थियो, जुन विश्वव्यापी आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो।

पाइपलाइनमाथिको आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। भू–उपग्रह तस्बिरमा मदिनाको दक्षिणी क्षेत्रमा पाइपलाइन आसपासबाट कालो धुवाँ उठिरहेको देखिएको छ। आक्रमणमा केही व्यक्ति घाइते भएको र क्षतिको मूल्यांकन भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका पछाडि इरानको हात हुन सक्ने बताएका छन्। यसैबीच, साउदी नागरिक सुरक्षा निकायका अनुसार शनिबार यमनका हुथी विद्रोहीले प्रहार गरेको प्रक्षेप्यास्त्रबाट जाजान क्षेत्रमा दुई जना घाइते भएका छन्। आक्रमणबाट मस्जिदसहित कैयौँ भवनमा क्षति पुगेको बताइएको छ।

अमेरिका र इरानबीचको तनाव तथा इरानसमर्थित हुथी विद्रोहीको गतिविधिका कारण लालसागरसहित मध्यपूर्वका प्रमुख समुद्री मार्गमा समेत आपूर्ति अवरोध बढ्ने चिन्ता छ।

रायटर्सका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार ट्रम्पसँग फोनवार्ता गर्दै हुथीविरुद्ध लड्न अमेरिकी सैन्य सहयोग मागेका थिए। तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने र गुप्तचर सूचनामार्फत सहयोग गर्ने जनाएको छ।

ट्रम्पले शनिबार आफूले युवराजसँग कुराकानी गरेको पुष्टि गर्दै हुथीहरूले समेत अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नहुन आग्रह गरेको बताएका छन्।