नेपाल भलिबल लिगमा आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने


काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको उपाधि भिडन्त आज अपरान्ह ४ बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुनेछ । 

अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो । अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो । कर्णालीले प्लेअफमा काठमाडौँ रेड्सलाई ३(१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको हो । कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा छ । उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो । 

लिग चरणमा कर्णालीले अन्नपूर्णविरुद्ध ३(१ सेटको जित निकालेको थियो । कर्णाली आज फाइनलमा पनि सोही जित दोहोर्‍याएर उपाधि जित्ने योजनामा छ । यता अन्नपूर्ण लिग चरणको हारको बदला लिएर च्याम्पियन बन्ने सोचमा छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको हो । केडिया ग्रुप आयोजक रहेको प्रतियोगिताको विजेता टोलीले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।