काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३१४ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भए । पाँचौक्रममा ब्याटिङ गर्न आउका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।
२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे ।
सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया