काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले संसद पुनःस्थापनाको बहस नगर्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । पार्टी सचिव महेश बस्नेतले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने सम्भावना बढ्दै गएको बताएको सन्दर्भमा भट्टराईको यस्तो भनाई आएको हो ।
उनले भनेका छन्, ‘संसद् पुनस्र्थापनाको व्यर्थ बहस नगरौं । चुनावमा भाग लिएर करारी हार व्यहोरी सकेपछि फेरि पुरानै संसद् चाहियो भन्नु नैतिक दृष्टिकोणबाट पनि उपयुक्त छैन । एउटा जिम्मेवार राजनीतिक शक्तिलाई सुहाउने कुरा पनि होइन । यस्तो विषयले केन्द्रीय कमिटीमा विचारविमर्शको योग्यता पनि राख्दैन ।’
उनले यतिबेला पार्टीलाई पुनर्जागृत गर्न र स्थानीय तहको चुनावको तयारीमा केन्द्रित बनाउनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेतृत्वले कथम चाहिहाल्यो भने विषय त बन्न सक्ने भयो । तर यो जनताबाट पार्टीलाई थप टाढा धकेल्ने कुरामात्र हुनेछ । हिजो संसद, सरकार, सत्ता सबै साथमा हुँदा त मुद्दाहरुमा खासै केही गर्न सकिएन । अहिले त धेरै टाढा छौ, व्यर्थको झमेलातिर नलागौं । मुर्छित एमालेलाई व्युझाउन हामीलाई कसैले एकमुठी पानी छम्किनेवाला छैन । अरु कसैबाट भ्रमित नबनौं, जनतातिर फर्कौ । हाम्रो जय यसैमा छ । हामी यतिबेला पार्टीलाई पुनर्जागृत गरौ र स्थानीय तहको चुनावको तयारीमा केन्द्रीत बनौं । अहिलेको आवश्यकता यही हो ।’
गत शुक्रबार पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव बस्नेतले सर्वोच्च अदालतमा विचाराधीन संसद् पुनःस्थापनासम्बन्धी मुद्दा र नागरिकस्तरबाट बढिरहेको दबाबले संसद् ब्युँताउने वातावरण निर्माण भइरहेको दाबी गरेका थिए ।
उनले संसद पुनःस्थापना भए निर्वाचनका क्रममा भएका भनिएका गलत अभ्यास सच्याउने अवसरसमेत प्राप्त बताएका थिए । उनले यस विषयलाई एमालेले आगामी केन्द्रीय कमिटी बैठकमा औपचारिक छलफलको एजेन्डा बनाउने जानकारी दिएका थिए । बस्नेतको भनाईको पार्टीभित्रै विरोध भइरहेको छ ।

प्रतिक्रिया