मुलुकमा लगानीमैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता निजी क्षेत्रका लागि उत्साहजनकः चन्द्र ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री बालेन साहसँग निजी क्षेत्रका प्रतिनिधिसहित भएको भेटवार्ता सकारात्मक र फलदायी रहेको बताएका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि सामाजिक संजालमार्फत ढकालले भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धि लगायतका विषयमा छलफल भएको जानकारी दिए । प्रधानमन्त्री साहले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

निजी क्षेत्रका समस्या, सुझाव तथा नीतिगत विषयमा निरन्तर छलफल र समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्री सकारात्मक देखिएको ढकालले उल्लेख गरे।

उनका अनुसार आधा घण्टाका लागि तय गरिएको भेटवार्ता करिब दुई घण्टासम्म चलेको थियो। व्यवसायी तथा लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद हुनु तथा लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सकारात्मक संकेत भएको ढकालको भनाइ छ।