आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा


नोम पेन्ह। म्यान्माका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्लाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन्। उनले शुक्रबार कम्बोडियाको दुई दिने भ्रमण सुरु गरेका हुन्। भ्रमणका क्रममा उनले सिनेट अध्यक्ष हुन सेनसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि म्यान्मा आसियानमा कूटनीतिक रूपमा अलग भएको थियो। हिंसा अन्त्य, संवाद र मानवीय सहायता अघि बढाउने आसियानको पाँच बुँदे शान्ति योजनामा अपेक्षित प्रगति नभएपछि मिन आङ ह्लाइङलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको थियो।

गत अप्रिलमा राष्ट्रपतिको शपथ लिएपछि उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार तथा आसियानसँग सामान्य सम्बन्ध पुनःस्थापित गर्ने प्रयास अघि बढाएका छन्। भारत, चीन, लाओस, थाइल्यान्ड, कजाकिस्तान, बेलारुस, रूस र भियतनामको भ्रमण गरिसकेका उनले व्यापार तथा लगानीमार्फत विदेशी पुँजी आकर्षित गर्ने प्रयास समेत गरेका छन्।

म्यान्मा संकट समाधानमा कम्बोडियाले यसअघि पनि भूमिका खेलेको थियो। सन् २०२२ मा तत्कालीन प्रधानमन्त्री हुन सेनले आसियानको अध्यक्षका रूपमा नेपितको भ्रमण गरी मिन आङ ह्लाइङसँग भेटवार्ता गरेका थिए।

तर उनको कम्बोडिया भ्रमणको आलोचना भएको छ। खमेर मुभमेन्ट फर डेमोक्रेसीले भ्रमणमार्फत मिन आङ ह्लाइङलाई कूटनीतिक वैधता दिन नहुने बताएको छ। मानव अधिकार संस्था फोर्टिफाई राइट्सले पनि भ्रमण रद्द गर्न आग्रह गर्दै उनलाई पक्राउ गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउन समेत माग गरेको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले रोहिङ्ग्या मुस्लिमविरुद्ध पश्चिमी म्यान्मामा भएको भनिएको मानवताविरुद्धको अपराधका सम्बन्धमा सन् २०२४ मा मिन आङ ह्लाइङविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए।