गत अगस्ट विश्वकै सबैभन्दा तातो महिना रेकर्ड


पेरिस । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवा कोपर्निकसले गत अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ । सो अवधिमा समुद्री सतहको तापक्रमसमेत अभूतपूर्व उचाइमा पुगेको र पश्चिमी युरोपले असाधारण गर्मीको सामना गरेको छ ।

कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस बढी हो । अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको छ ।

कोपर्निकसकी सामन्था बर्गेसले कम्तीमा पछिल्लो एक लाख वर्षमा मानिसले अहिले जस्तो उच्च तापक्रम नदेखेको बताए । वैज्ञानिकहरूका अनुसार कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युगअघिको तुलनामा पृथ्वीको तापक्रम करिब १.४ डिग्री सेल्सियस बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धनप्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु सङ्कट बढाइरहेको बताए ।

यसैबीच, अगस्टमा समुद्री सतहको तापक्रम पनि उच्च विन्दुमा पुगेको र महासागरमा लगातार तीन महिनासम्म तापक्रमका नयाँ कीर्तिमान कायम भएको कोपर्निकसले जनाएको छ । हरितगृह ग्यासबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी समुद्रले सोस्ने भए पनि यसले समुद्री जीव, प्रवालका प्राकृतिक संरचना र तटीय समुदायमा गम्भीर असर पारिरहेको वैज्ञानिकहरूले बताएका छन् ।

कोपर्निकसका अनुसार जुनदेखि अगस्टसम्म पश्चिमी युरोपले सन् २००३ को सबैभन्दा तातो गर्मीको कीर्तिमानसमेत पार गरेको छ । लगातारको तातो लहरका कारण विद्यालय बन्द गर्नुपरेको, नदी सुकेको र जङ्गलमा आगलागीको जोखिम बढेको थियो । युरोपमा अतिरिक्त मृत्युको निगरानी गर्ने तथ्याङ्कअनुसार, जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म अत्यधिक गर्मीका कारण ३२ हजारभन्दा बढी अतिरिक्त मृत्यु भएको अनुमान गरिएको थियो ।

असाधारण गर्मी युरोपमा मात्र सीमित रहेन । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले पनि अमेरिकाले अभिलेखमै सबैभन्दा तातो गर्मीमध्ये एक सामना गरेको जनाएको छ । कोपर्निकसको तथ्याङ्कअनुसार करिब ९० करोड मानिस बसोबास गर्ने क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा तातो जुलाई रेकर्ड भएको थियो ।

जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले जीवाश्म इन्धन जलाउन नरोकेसम्म यस्ता कीर्तिमानी तातो महिना दोहोरिइरहने बताए । बर्गेसले पनि विश्वव्यापी उत्सर्जन नियन्त्रण नगरे जलवायु अवस्था अझ चरम बन्दै जाने चेतावनी दिए ।