रोयटर्स । अमेरिकी सेनाले आफ्ना मोबाइल फोन र कम्प्युटरमा रहेका विज्ञापन ट्रयाकर तथा विज्ञापन पहिचानकर्ता निष्क्रिय गरेको छ। व्यावसायिक रूपमा उपलब्ध स्थानसम्बन्धी तथ्यांक प्रयोग गरी मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकलाई लक्षित गरिएको हुनसक्ने रिपोर्टपछि सेनाले यस्तो कदम चालेको हो ।
अमेरिकी वायुसेनाले आफ्ना कम्प्युटर र मोबाइल फोनमा रहेका विज्ञापन पहिचानकर्ता दुई महिनाअघि निष्क्रिय गरिएको सिनेटर रोन वाइडेनलाई जानकारी दिएको छ। अमेरिकी स्पेसल अपरेसन्स कमान्डले पनि आफ्ना विन्डोज उपकरणमा रहेका यस्ता पहिचानकर्ता हालै निष्क्रिय गरिएको जनाएको छ।
अमेरिकी सेनाले भने मोबाइल उपकरणसँग सम्बन्धित विज्ञापन पहिचानकर्ता यसै वर्षको सुरुदेखि निष्क्रिय गरिएको रोयटर्सलाई बताएको छ। ओरेगनका डेमोक्र्याट सिनेटर वाइडेनले विज्ञापन उद्योग र डाटा ब्रोकर कम्पनीहरूले संकलन तथा बिक्री गर्ने स्थानसम्बन्धी तथ्यांकबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने जोखिमबारे महिनौँदेखि पेन्टागनसँग प्रश्न उठाउँदै आएका छन्।
विज्ञापन उद्योगले संकलन गर्ने स्थानसम्बन्धी तथ्यांक डाटा ब्रोकरमार्फत बिक्री हुने गर्छ। यस्तो तथ्यांक सैन्य कर्मचारीको गतिविधि निगरानी गर्न तथा युद्ध क्षेत्रमा उनीहरूलाई लक्षित गर्न प्रयोग हुनसक्ने सुरक्षा अधिकारीहरूको चिन्ता छ।
अमेरिकी सेनाका अनुसार विन्डोज कम्प्युटरमा विज्ञापन पहिचानकर्ता सन् २०२१ भन्दा अगाडिदेखि नै रोकिएको थियो। एन्ड्रोइड र एप्पलका मोबाइल उपकरणमा भने यो सुविधा कम्तीमा सन् २०२६ फेब्रुअरीदेखि डिफल्ट रूपमा निष्क्रिय गरिएको हो।
यसबीच अमेरिकी सेनाले मोबाइल फोन प्रयोगमा थप कडाइ गर्ने विषयमा समेत विचार गरिरहेको छ। रोयटर्सले जुलाईमा सार्वजनिक गरेको रिपोर्टअनुसार मध्यपूर्वमा तैनाथ केही अमेरिकी सैनिकलाई मोबाइल फोन बुझाउन आदेश दिन सकिनेबारे छलफल भएको थियो। सैनिकहरूले इन्टरनेटमा पोस्ट गर्ने भिडियोबाट इरानलाई अमेरिकी सैन्य अखडा पहिचान गर्न सहयोग पुग्नसक्ने आशंका गरिएको थियो।
वाइडेन र नर्थ क्यारोलिनाका रिपब्लिकन सांसद प्याट ह्यारिगनले शुक्रबार पेन्टागनलाई पत्र पठाउँदै स्थानसम्बन्धी तथ्यांकको कारोबारबाट उत्पन्न जोखिम नियन्त्रण गर्न सेनाले पर्याप्त कदम चालेको थियो वा थिएन भन्नेबारे अनुसन्धान गर्न माग गरेका छन्।
वायुसेना र स्पेसल अपरेसन्स कमान्डले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेका छन् भने अमेरिकी नौसेनाले रोयटर्सको प्रतिक्रियासम्बन्धी अनुरोधको जवाफ दिएको छैन।

प्रतिक्रिया