उदयराज ढकाल
सबैभन्दा ठूलो प्राप्ति के होला ?
यो प्रश्नको उत्तर हरेक मानिसले आ-आफ्नै ढंगले दिन सक्छ । कसैका लागि धेरै पैसा, कसैका लागि ठूलो घर, राम्रो जागिर, पद र प्रतिष्ठा । कसैका लागि छोराछोरीको सफलता, कसैका लागि समाजमा आफ्नो नाम र सम्मान। कसैका लागि जीवनभर देखेको सपना पूरा हुनु नै सबैभन्दा ठूलो उपलब्धि हुन सक्छ। हामीले जीवनलाई जसरी बुझेका छौँ, त्यहीअनुसार हाम्रो ‘प्राप्ति’को अर्थ पनि बदलिन्छ।
तर मानिसको एउटा स्वभाव भने लगभग उस्तै छ। एउटा कुरा पाएपछि त्यसमा लामो समय सन्तुष्ट रहन सक्दैन। यसलाई नै मानवीय स्वभाव भनिँदै आइएको छ । आज जागिर चाहिन्छ, जागिर पाएपछि बढुवा। आज घर चाहिन्छ, घर पाएपछि अझ ठूलो घर। एउटा गाडी पाएपछि अर्को राम्रो गाडी। एउटा लक्ष्य पूरा भएपछि अर्को लक्ष्य। चाहनाको यो सूची कहिल्यै सकिँदैन। त्यसैले मानिसको जीवन धेरै हदसम्म केही न केही प्राप्त गर्ने दौडमै बितिरहेको हुन्छ। हामीले सफल हुनुको मानक पनि यसैलाई बनाएका छौँ । तर दौडिरहेकै बेला हामीले कहिलेकाहीँ आफैँलाई सोध्ने प्रयास गरेका छौँ कि यति धेरै कुरा पाएपछि हामी आखिर कहाँ पुग्न खोजिरहेका छौँ ?
केही दिनअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोले म भित्र रहेको यो प्रश्नलाई अझ नजिकबाट पुनः सम्झाइदियो । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको खोजी धेरै दिनसम्म चल्यो । बाहिर परिवारका मानिसहरू थिए, उद्धारकर्मी थिए, आशा र निराशाबीच पर्खिरहेका हामी थियौँ । दिन बित्दै गए । सुरुङभित्र रहेका मानिसहरु जीवित छन् भन्ने आशा थियो, निश्चित थिएन । अनवरत खोजी प्रयास जारी रह्यो । दश दिनपछि केहि मानिसहरुलाई सुरुङबाट जीवित उद्धार गरियो । हामी सबैउक्त खबर सुनेर निकै खुसी भयौँ, थप जीवित भेटिने आशाको किरण जाग्यो । परिवारका लागि त्यो खुसीको क्षण कस्तो थियो होला, यो लेखमा शब्दमा भन्न कठिन छ।
सुरुङबाट उद्धार भएकाहरूले त्यो दिन कुनै ठूलो सम्पत्ति पाएका थिएनन्, कुनै पद प्राप्त गरेका थिएनन् । कुनै पुरस्कार जितेका थिएनन् । उनीहरू भयानक संघर्षको अवस्थाबाट जीवित भेटिएका थिए । त्यसै कारण त्यो खबर यति खुसीको विषय बन्यो । विपत्तिका बेला यस्तो दृश्य हामीले पटक-पटक देख्छौँ । भूकम्पपछि भग्नावशेषभित्र कोही जीवित छ कि भनेर मानिसहरू दिनरात खोज्छन् । बाढीमा कोही बग्यो भने अपरिचित मानिस पनि आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा पुग्छ । दुर्घटनामा घाइते भएकाका लागि रक्तदान गर्न मानिसहरू लाम लाग्छन् । उपचारका लागि पैसा नपुग्दा अपरिचित मानिसले पनि सहयोग गर्छ । किनकि संकटको क्षणमा हामीलाई एउटा कुरा मात्र महत्वपूर्ण लाग्छ, मानिस बाँच्नैपर्छ ।
सामान्य अवस्थामा भने हाम्रो जीवन धेरै फरक हुन्छ। हामी अरूसँग तुलना गर्छौँ। उसको घर ठूलो भयो, मेरो किन भएन? उसले गाडी किन्यो, मैले किन किन्न सकिनँ? उसले राम्रो जागिर पायो, मैले किन पाइनँ? उसका छोराछोरी विदेश गए, मेरा किन गएनन् ? सामाजिक सञ्जालमा अरूको सफल जीवन हेर्दै आफ्नो जीवनलाई कमजोर ठान्न थाल्छौँ। आफ्नो जीवनमा भएका राम्रा कुरा बिर्सेर अरूसँग भएका कुरा गन्न थाल्छौँ। यही दौडमा कहिलेकाहीँ हामीले आफूले पहिले नै पाइसकेको कुराको मूल्य नै बिर्सिरहेका हुन्छौँ।
मानिसको जीवनको मूल्य बुझ्ने चेतना अझ गहिरो हुँदै जाने हो भने त्यो मानिसमै रोकिनु हुँदैन। मानिस बाँच्न हावा चाहिन्छ, पानी चाहिन्छ, माटो चाहिन्छ, वन चाहिन्छ, नदी चाहिन्छ, सूर्यको प्रकाश चाहिन्छ। हाम्रो भोजनअसंख्य वनस्पति, जीव र प्राकृतिक प्रक्रियासँग जोडिएको छ। हामीले हेपाहा दृष्मिकोणबाट हेर्ने सानो कीरा, चराचुरुङ्गी, वनस्पति र सूक्ष्म जीवसमेत पृथ्वीको ठूलो जीवन-तन्त्रका हिस्सा हुन्। मानिस प्रकृतिबाट अलग बसेको कुनै छुट्टै संसार होइन। हामी प्रकृतिकै असंख्य जीव बीचको एउटा हिस्सा हौँ।
त्यसैले मानिसको कल्याणलाई प्रकृतिको कल्याणबाट अलग गरेर हेर्न सकिँदैन। हाम्रो सास र वनबीच सम्बन्ध छ। हाम्रो पानी र हिमालबीच सम्बन्ध छ। हाम्रो भोजन र माटोबीच सम्बन्ध छ। हाम्रो जीवन र महासागरबीच पनि सम्बन्ध छ। हामीले नदेखेका असंख्य सम्बन्धहरूले पृथ्वीमा जीवनलाई सम्भव बनाइरहेका छन्। जीवनको मूल्य बुझ्ने चेतना विस्तार हुँदै जाँदा अन्ततः सम्पूर्ण जीवनको सम्मानमा पुग्नुपर्छ।
विश्व मौसम संगठनका अनुसार सन् २०१५ देखि २०२५ सम्मका ११ वर्ष पृथ्वीको तापक्रम मापन इतिहासकै सबैभन्दा ताता ११ वर्ष बनेका छन्। समुद्रको तापक्रम बढिरहेको छ, हिमनदीहरू पग्लिरहेका छन् र चरम गर्मी, भारी वर्षा, आँधी तथा अन्य मौसमी घटनाले संसारभर ठूलो क्षति पुर्याइरहेका छन्। पछिल्ला दुई दशकमा महासागरले हरेक वर्ष मानिसले एक वर्षमा प्रयोग गर्ने ऊर्जाको करिब १८ गुणा बराबर ताप सोसेको अनुमान गरिएको छ।
यी तथ्य वातावरणीय तथ्य मात्र होइनन्। यी हाम्रो जीवनका तथ्य हुन्। हिमालमा हिउँ घट्नुको असर नदीमा पर्छ। नदीमा असर पर्नुको अर्थ खेती, खानेपानी, ऊर्जा र बस्तीमा असर पर्नु हो। समुद्र तात्नुको असर समुद्रमा मात्र सीमित हुँदैन। मौसम बदलिन्छ, खाद्य प्रणाली प्रभावित हुन्छ, मानिसको रोजगारी र बसोबास प्रभावित हुन्छ। प्रकृतिमा आएको असन्तुलन अन्ततः मानिसकै जीवनमा आइपुग्छ।
नेपालले पनि यसको असर भोगिरहेको छ। २०८१ असोजमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले देशका २१ जिल्ला प्रभावित भए, जसमध्ये सात जिल्ला गम्भीर रूपमा प्रभावित भएका थिए। २४६ जनाको ज्यान गएको उक्त विपत्तिले लाखौँ मानिसको जीवन प्रभावित बनायो। यस्ता घटनालेप्रकृतिलाई हामीबाट अलग राखेर हेर्न सकिँदैन भन्ने कुराको स्पष्ट सन्देश दिन्छन् । नदी, जंगल, हिमाल र माटो स्वस्थ रहनु भनेको हाम्रो जीवन सुरक्षित रहनु हो।
यसको अर्थ विकास रोक्नुपर्छ भन्ने होइन। सडक, पुल, जलविद्युत्, भवन, प्रविधि र उद्योग सबै आवश्यक छन्। तर विकासको अन्तिम उद्देश्य मानिसको जीवनलाई सुरक्षित र सहज बनाउनु हो। यदि विकासकै क्रममा नदी, वन, हिमाल, माटो र समुद्रलाई अस्वस्थ बनाउँदै गयौँ भने त्यसको मूल्य पनि मानिसले नै तिर्नुपर्छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता सुन्दर पृथ्वीलाई बचाउने हुनैपर्छ। त्यसपछि पृथ्वीमा रहेका प्राणी र वनस्पतिको जीवन जोगाउनु। हामीले पृथ्वी बाहिरको थप खोज, अनुसन्धान र प्रविधिको यात्रालाई अगाडि बढाउनुहुँदैन भन्ने होइन, हाम्रो अनुसन्धानको पहिलो उद्देश्य नै पृथ्वी र यसभित्र रहेका जीवनको रक्षा गर्ने हुनुपर्छ।
अबको विज्ञानले ‘हामी अझ के बनाउन सक्छौँ?’ भन्ने प्रश्न मात्र नभई ‘हामीले बनाएको कुराले पृथ्वी र जीवनमा कस्तो असर पार्छ?’ भन्ने प्रश्न पनि गर्नुपर्नेछ। हामी महासागरको गहिराइ नापौँ, अन्तरिक्षको खोज गरौँ, नयाँ औषधि बनाऔँ, नयाँ ऊर्जा खोजौँ, नयाँ प्रविधि विकास गरौँ। यी सबै आवश्यक छन्। तर यी उपलब्धिको केन्द्रमा मानिस मात्रै नभई सम्पूर्ण जीवन–तन्त्रको सुरक्षा हुनुपर्छ। विज्ञान र प्रविधि जीवनका बोझ नभई सेवक बन्नुपर्छ ।
मानिसले जीवनको मूल्य बिर्सने अर्को ठूलो ठाउँ युद्ध र हिंसा हो। संसारका विभिन्न ठाउँमा अहिले पनि मानिसहरू युद्धका कारण मारिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ मा द्वन्द्वका क्रममा ३७ हजार १६३ नागरिक मारिए। मारिने नागरिकमध्ये करिब पाँचमध्ये एक बालबालिका र चारमध्ये एक महिला थिए।युद्धमा मारिने मानिस पनि बाँच्न चाहन्थ्यो। उसको परिवार थियो। उसका आफ्ना सपना थिए। कसैले उसको प्रतीक्षा गरिरहेको थियो।
नेपालले पनि हिंसाको ठूलो मूल्य तिरेको छ। एक दशक लामो सशस्त्र द्वन्द्वमा हजारौँ नेपालीले ज्यान गुमाए। त्यसपछि भएका विभिन्न राजनीतिक आन्दोलनमा पनि मानिसको मृत्यु भयो। आन्दोलन र राजनीतिक परिवर्तन इतिहासका महत्वपूर्ण अध्याय हुन्, तर ती अध्यायका पछाडि ज्यान गुमाएका परिवारका पीडा पनि छन्। हरेक मृत्युको पछाडि एउटा मानिस मात्र हुँदैन। एउटा परिवार हुन्छ, धेरै सम्बन्ध हुन्छन् र अधुरा सपना हुन्छन्।
कसैको अन्तिम संस्कारमा पुग्दा हामी केही समयका लागि हामी बडो गम्भीर हुन्छौँ। मानिसको चितामाजलिरहेको शरीरदेख्दा मनमा अनेक प्रश्न उठ्छन्, यति धेरै दौडेर मैले के पाएँ? किन यति धेरै लोभ गरेँ? परिवारलाई समय किन दिन सकिनँ? सानो कुरामा किन रिसाएँ? मानिसको मूल्य उसलाई गुमाउनुअघि किन बुझिनँ? त्यो क्षण हामी बदलिने निर्णय गर्छौँ। तर केही समयपछि फेरि पुरानै दौड सुरु हुन्छ। क्रोध, रिस, अहंकार, घमण्ड, इष्र्या, डाह । गुमाउन लागेपछि मात्र पाएको कुराको मूल्य बुझ्नु मानिसको ठूलो कमजोरीजस्तो देखिन्छ।
यही कुरा आजका युवाको जीवनमा पनि लागू हुन्छ। परीक्षामा सोचेजस्तो अंक आएन। जागिर पाइएन। व्यवसायमा घाटा भयो। प्रेम सम्बन्ध टुट्यो। परिवारको दबाब बढ्यो।आर्थिक समस्या आयो। साथीहरू सबै अघि बढेझैँ लाग्यो, आफू भने पछाडि परेजस्तो भयो। सामाजिक सञ्जालमा अरूको चम्किलो जीवन देखियो र आफ्नै जीवन फिक्का लाग्न थाल्यो। यस्ता अनुभव एक्लाएक्लै सामान्य देखिन सक्छन्, तर एकपछि अर्को जोडिँदा मानिस गहिरो संकटमा पुग्न सक्छ।
हामीले युवालाई ठूलो सपना देख्न सिकायौँ। तर सपना पूरा हुन समय लाग्छ भनेर कहिल्यै सिकायौँ? हामीले सफलताको कथा धेरै सुनायौँ, असफल भएपछि फेरि उठेका कथा कति सुनायौँ? राम्रो अंक ल्याउनु, राम्रो जागिर पाउनु, पैसा कमाउनु र सफल हुनु महत्वपूर्ण छन् तर यीमध्ये कुनै पनि कुरा मानिसको जीवनभन्दा ठूलो हुन सक्दैन।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा हरेक वर्ष ७ लाख २० हजारभन्दा बढी मानिस आत्महत्याबाट ज्यान गुमाउँछन्। १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको तेस्रो प्रमुख कारण हो। विश्वमा हुने कुल आत्महत्या मध्ये ७३ प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकमा हुने गरेको छ भने प्रत्येक आत्महत्याका पछाडि करिब २० वटा आत्महत्याको प्रयास हुने अनुमान गरिएको छ । मानसिक, सामाजिक, आर्थिक, सम्बन्धगत र अन्य धेरै कारणले मानिसलाई संकटमा पुर्याउन सक्छ। समयमै भावनात्मक सहयोग, उपचार र सुरक्षित वातावरणले जीवन बचाउन सकिन्छ।
त्यसैले आत्महत्याको विचारलाई कमजोरी, अपराध वा चरित्रको समस्या भनेर मात्र बुझ्नु हुँदैन। त्यो मानिस गहिरो संकटमा परेको संकेत हुन सक्छ। त्यस्तो बेला उसलाई दोष होइन, साथ चाहिन्छ। उपदेश होइन, उसको कुरा सुन्ने मानिस चाहिन्छ। ‘तिमी किन यस्तो सोच्दैछौ?’ भन्दा पहिले ‘म तिमीसँग छु’ भन्ने आवाज चाहिन्छ। शरीर त्याग्नु समाधान कदापी हुन सक्दैन, संकटको उपचार, संवाद र सहयोग खोज्नु नै समाधान हो।
एउटा परीक्षा बिग्रँदैमा जीवन बिग्रँदैन। एउटा जागिर नपाउँदैमा भविष्य सकिँदैन। एउटा सम्बन्ध टुट्दैमा प्रेम सकिँदैन। आजको आर्थिक समस्या जीवनको अन्तिम सत्य होइन। जीवनमा एउटा बाटो बन्द हुँदा अर्को बाटो खोज्न सकिन्छ। केही समय रोकिएर फेरि अघि बढ्न सकिन्छ। सहयोग माग्न सकिन्छ। फेरि सुरु गर्न सकिन्छ। संकटको सबैभन्दा अँध्यारो क्षणमा पनि निर्णय स्थगित गरेर सहयोग खोज्नु जीवनतर्फ फर्किने बाटो हुन सक्छ।
पूर्वीय दर्शनमा एउटा कथा उल्लेख छ, जुन कथा यी गहिरा प्रश्नहरूको सहज उत्तर दिनका लागि प्रासंगिक देखिन्छ ।
एक युवक असफलताले ग्रस्त भई आत्महत्या गर्न अग्लो ठाउँमा रहेको चट्टानबाट खोलामा हामफाल्न तयार हुँदै थियो । त्यही बेला त्यहिँ रहेका एक सन्तले रोक्दै सोधे, ‘युवक तिमी किन मृत्यु रोज्दैछौ ?’
युवकले जीवनप्रतिको गुनासो पोख्यो, ‘भगवानले मेरो कुरा कहिल्यै सुन्न चाहेनन्, मैले केही प्राप्त गर्न सकिन, जीवनभर गुमाउने कुरा मात्र भयो । जति कोशिश गरे पनि अभावै अभाव मात्रै भएर जीवनदेखि हारिसकेको छु । थाकिसकेको छु । मैले सुन छुँदा पनि माटो बन्ने परिस्थिति बन्यो । मेरा लागि यो जीवन केवल निरर्थक रह्यो ।
सन्यासीले मुस्कुराउँदै भने, ‘तिमी मर्नका लागि त तयार नै भइसकेका छौ । तिमीले आँटिसकेको कुरामा मैले आखिर के नै गर्न सक्छु र ? तर तिमी मर्ने नै हो भने पनि मेरो एउटा कुरा सुन । यो देशका सम्राट मेरा मित्र हुन् । म तिमीलाई उनीसँग भेटाइदिन्छु । सम्राटलाई वस्तुहरू संकलन गर्ने गज्जबको सोख छ । सम्राटलाई तिम्रो आँखा बेच । लाखौँ रुपैयाँमा बिकाउन मैले नै सहयोग गर्नेछु भनेर सन्यासीले युवकलाई विश्वस्त पारे । सम्राटलाई मन लाग्यो भने कान, दाँत लगायत तिम्रो शरीरका अनेक अङ्गहरु समेत किनिदिन सक्छन् । यो कुरा सुनेर युवक पैसाको जोहो गर्ने आशा जाग्यो, नाजवाफ पनि भयो र सन्यासीको पछि–पछि लाग्यो । जति–जति सम्राटको दरवार नजिक पुग्दै गयो युवकमा आँखा बेच्न हुन्न भन्ने भाव बढ्दै गयो । दरबार पुग्दा नपुग्दै युवकले मर्ने कुरा बिर्सिँदै गयो ।
सन्यासीले सम्राटलाई भेटे र आँखा किन्ने कुरा मनाए । सम्राट र युवकलाई आमनेसामने राखेर आँखा बेच्ने युवक यहि हो भनेर अवगत गराए । सम्राटले आँखाको मोल लगाए । युवक मौन रह्यो । सम्राटले मोल बढाउदै गए । दुई लाख, तीन लाख, जति माग्छौँ त्यति । युवक अझै मौन रह्यो । सम्राटले मोल बढाउँदै लगे र भने १० लाख चाहिए पनि दिन्छु । तिम्रा शरीरका अङ्गहरु राम्रो लाग्यो । कान, दाँत, हात, खुट्टा सबै किन्छु । तिमी मर्ने नै त हौ । तिम्रो सबै अङ्ग बेच म करोड रुपैयाँ दिन्छु भने ।
सम्राटका यस्ता कुरा सुनेर युवक अत्तालिन थाल्यो ! आँखा, कान, हात-खुट्टा वा अन्य अङ्ग बेचेर कसरी बाँचिन्छ ? जब सम्राटले करोडसम्म दिने प्रस्ताव राखे, युवकले रिसाउँदै भन्यो, ‘म मेरा अंग कुनै पनि हालतमा बेच्दिनँ । तिमीहरुले पैसाकै बलमा मेरो शरीरका अङ्ग किन्न खोज्दैछौ ? सिंगो शरीरको मोलतोल गरिरहेका छौ ? युवकले संगिन आरोप लगायो, तिमीहरू हत्यारा हौ ।’
युवकको जवाफको प्रतिक्रियामा सन्यासी भन्छन्, ‘अघिसम्म तिमी आफैलाई गरिब भन्थ्यौ । जीवनमा केहि पनि पाइन, इश्वरले केहि पनि दिएनन्, मेरो कुरा सुनेनन् भन्थ्यौ । तर अहिले तिमीले भनिरहेका छौ कि तिम्रा आँखा, कान, हात–खुट्टा करोडौँ मूल्य भन्दा अमूल्य छन् । युवक ! बल्ल तिम्रो चेत खुल्यो । तिमी अभावग्रस्त होइन, सम्पन्न छौ । यही चेतना जगाउन मैले तिमीलाई यहाँ लिएर आएको हुँ । त्यस दिनदेखि युवकले गुनासो नगरी, कृतज्ञतापूर्वक जीवनलाई अँगाल्न थाल्यो ।
यो कथा जीवनको मूल्य बुझ्ने एउटा दृष्टान्त हो। हामीसँग भएको कुराको मूल्य हामी कति बुझ्छौँ? बिहान उठेर सूर्य देख्छौँ। स्वच्छहावा फेर्छौँ। पानी पिउँछौँ। आकाश हेर्छौँ। चराको आवाज सुन्छौँ। हरियो वन देख्छौँ। आफ्नाहरुसँग बोल्छौँ। हाँस्छौँ, रुन्छौँ, सम्झन्छौँ र सपना देख्छौँ। यीमध्ये कति कुरा हामीले पैसा तिरेर किनेका हौँ? जीवनका धेरै महत्वपूर्ण कुराहरु बजारमा पाइँदैनन्। आँखा, कान, सास, चेतना, प्रेम, सम्बन्ध, सम्झना र सपना, यी सबैको मूल्य बजारले तोक्न सक्दैन। त्यसैले अरूसँग तुलना गरेर आफ्नो जीवनको मूल्य घटाउनु हुँदैन।
अरूको घर ठूलो हुनु हाम्रो घर सानो भएको प्रमाण होइन। अरूले धेरै कमाउनु हाम्रो जीवन कम मूल्यवान् भएको प्रमाण होइन। अरूको बाटो छिटो अघि बढ्नु हाम्रो यात्रा गलत भएको प्रमाण होइन।तर ‘मेरो जीवन मूल्यवान् छ’ भन्ने चेतना पनि त्यत्तिमै रोकिनु हुँदैन। ‘अरूको जीवन पनि मूल्यवान् छ’ भन्ने चेतनाचाहिन्छ। त्यसपछि ‘सम्पूर्ण जीवन मूल्यवान् छ’ भन्ने बोधमा पुग्नुपर्छ। यही चेतनाले मानिसलाई अझ जिम्मेवार बनाउँछ।
हामीले मानिस बचाउन सिक्यौँ। अब हाम्रो अस्तित्वको मूल कारक रहेको पृथ्वी पनि बचाउन सिक्नुपर्छ। हामीले नदीबाट पिउने पानी, सिँचाईर ऊर्जालिन सिक्यौँ, अब नदीलाई बाँच्न दिन सिक्नुपर्छ। जंगलबाट स्रोत लिन सिक्यौँ, अब जंगलको आफ्नै जीवन पनि छ भनेर बुझ्नुपर्छ। महासागरबाट स्रोत खोज्यौँ, अब महासागरलाई फोहोर फाल्ने ठाउँ नठान्न सिक्नुपर्छ। आकाशलाई हेरेर सपना देख्यौँ, अब त्यही आकाश स्वच्छ राख्ने जिम्मेवारी पनि लिनुपर्छ।
हाम्रो चेतना जति माथि उठ्छ, हाम्रो जिम्मेवारीको घेरा पनि त्यति नै ठूलो हुनुपर्छ। सुरुमा आफूलाई, त्यसपछि परिवारलाई, समाजलाई र अन्ततः सम्पूर्ण जीवनलाई बचाउने सोच विकास हुनुपर्छ। एउटा रूख, एउटा नदी, एउटा चरा वा एउटा सानो जीवको अस्तित्व हाम्रो जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। पृथ्वीमा जीवनको जालो यति गहिरो छ कि एउटा कडी कमजोर हुँदा त्यसको असर अन्ततः हामीसम्म आइपुग्छ।
यसैले अबको विकास, राजनीति, अर्थतन्त्र र विज्ञानको सफलता हामीले कति कमायौँ, कति बनायौँ वा कति अगाडि बढ्यौँ भन्ने कुराले मात्र मापन हुनु हुँदैन। हामीले पृथ्वीलाई कस्तो अवस्थामा छोड्दैछौँ? नदी कति सफा छन् ? जंगल कति सुरक्षित छन् ? महासागर कति स्वस्थ छन् ? हावा कति स्वच्छ छ? प्राणी र वनस्पतिको अस्तित्व कति सुरक्षित छ? यी प्रश्न पनि विकासका मापदण्ड बन्नुपर्छ।
अन्ततः फेरि भोटेकोशीको त्यो सुरुङ सम्झौँ। दशौँ दिनसम्म मानिसहरू सुरुङभित्र जीवन खोजिरहेका थिए। त्यहाँ बैंक खाताको कुनै अर्थ थिएन। पदको कुनै अर्थ थिएन। गाडी, घर र सम्पत्तिको कुनै अर्थ थिएन। त्यहाँ एउटा कुरा मात्रै महत्वपूर्ण थियो, जीवन छ कि छैन? भित्रैसम्म खन्दै जाँदा जब मानिस जीवित भेटिए, उद्धारकर्मीलाई कठीन जिम्मेवारीको सफलता प्राप्त भयो, खुसी भए, परिवारजन खुसी भए । हामी सबै खुसी भयौँ । सिंगो देश खुसी भयो। त्यो क्षणले हामीलाई सायद धेरै समयदेखि नबुझेको एउटा सत्यको बोध गरायो ।
हामी जीवनभर धेरै कुरा प्राप्त गर्न दौडिरहेका छौँ। नाम, दाम, पद, प्रतिष्ठा, घर, गाडी, व्यवसाय र सफलता; यी सबै जीवनका हिस्सा हुन्। आवश्यक पनि छन्। तर यी सबैको अर्थ एउटा आधारभूत कुरा रहेसम्म मात्र छ। जुनकुरा हामीसँग कुरा पहिल्यै छ।त्यसको मूल्य बजारले तोक्न सक्दैन। त्यसलाई किन्न सकिँदैन। गुमाएपछि मात्र त्यसको वास्तविक मूल्य थाहा हुन्छ।
त्यो हो जीवन ।
र जीवन अब मानिसको मात्र भनेर बुझ्ने समय पनि छैन। यो पृथ्वी हो। यो आकाश हो। यी हिमाल हुन्। यी नदी हुन्। यी वन हुन्। यो महासागर हो। चराको उडान हो। जनावरको अस्तित्व हो। वनस्पतिको हरियाली हो। माटोभित्रको सूक्ष्म जीवन हो। यी सबैसँग गाँसिएको हाम्रो आफ्नै सास हो। त्यसैले सबैभन्दा ठूलो प्राप्ति जीवनत हो नै, जीवनलाई सम्भव बनाइरहेको यो सुन्दर संसार पनि हो।
विज्ञानले अझ धेरै खोज्नेछ। मानिस महासागरको गहिराइमा पुग्नेछ, अन्तरिक्षको अझ टाढाको यात्रा गर्नेछ, नयाँ औषधि र प्रविधि बनाउनेछ। तर यी सबै खोजको अर्थ त्यतिबेलासम्म मात्र हुनेछ, जबसम्म पृथ्वीमा जीवन सुरक्षित रहन्छ।
सायद अब हामीले सबैभन्दा ठूलो प्राप्ति खोजिरहनु पर्दैन। हामीले त्यो जन्मँदै पाइसकेका रहेछौँ। अब त्यसलाई बुझ्नु छ। बचाउनु छ। अर्थपूर्ण बनाउनु छ।
आफ्नो जीवनलाई पनि, अरूको जीवनलाई पनि र हामी सबैलाई बाँच्न दिएको यो सुन्दर पृथ्वीलाई पनि। किनकि सबैभन्दा ठूलो प्राप्ति पाउनु मात्र होइन, पाइसकेको जीवनको मूल्य बुझेर त्यसलाई जोगाउँदै बाँच्नु रहेछ ।
सबैको मंगल होस्, कल्याण होस्, भलो होस् ।
आज श्रीकृष्ण जन्माष्टमीको पुनीत तिथीमा भगवानबाट हाम्रो जीवनमा सकारात्मक ऊर्जा प्राप्त होस् ।
(उदयराज ढकाल विगत एक दशकदेखि शिक्षा, स्वास्थ्य, युवा तथा आमनागरिकका सरोकारसँग सम्बन्धित समसामयिक सार्वजनिक नीति र सुशासनका विषयमा निरन्तर लेखन, विश्लेषण तथा सार्वजनिक बहसमा सक्रिय रहँदै आएका छन् ।)

प्रतिक्रिया