काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । सेनाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म हवाई माध्यमबाट २९ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाका सात र गैरसैनिक छ वटा हवाई साधन परिचालन गरी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ। नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याई उपचार भइरहेको छ । उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको छ। सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले उद्धार कार्य जारी राखेको छ। आयोजनाको कार्यालय र निवास पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माण भइरहेको छ। अडिट–१ बाट ४२६ मिटरभित्रसम्म टोली प्रवेश गरेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोको सुरुङमा नेपाली सेनाका २५ र गैरसैनिक दुई जनासहितको टोलीले खोजी गर्दा दुई शव फेला पारेको छ। त्यहाँ थप खोजी भइरहेको छ।
चिलिमे हाइड्रोमा विदेशीसमेत सहभागी संयुक्त टोलीले जेनेरेटर र मड पम्पको प्रयोग गरी सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्याफ्ट र डुंगाको प्रयोग गरी खोजी गरिरहेको छ। सुरुङभित्रको पानीसमेत बाहिर निकाल्ने काम भइरहेको छ।
यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना परिचालन भएका छन्। टोलीले पुल जडानस्थलमा बेस निर्माण गरिरहेको छ। गजुरीमा रहेको एक्रो ब्रिजका केही सामग्री त्रिशूली पुर्याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ।
सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपतकालीन उपचारलगायतका काम गरिरहेका छन्।

प्रतिक्रिया