काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत कुसियैतसहित पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम रु आठ लाख दुई हजार ८७८ कायम गरी सजाय गर्न मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया