स्नायु स्वास्थ्यमा नयाँ प्रविधि ‘नेसा एक्ससिग्नल’ अब नेपालमा


काठमाडौं । स्नायु प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याको व्यवस्थापन तथा पुनःस्थापनाका क्षेत्रमा प्रयोग हुँदै आएको नेसा एक्ससिग्नल (NESA XSignal) प्रविधि नेपालमा प्रवेश गरेको छ। नेसा वल्र्डका अनुसार नेपालमा पहिलोपटक भित्रिएको यो गैर–आक्रामक न्युरोमोडुलेसन (Non–invasive Neuromodulation) प्रविधि शरीरभित्र कुनै उपकरण प्रवेश नगराई सूक्ष्म विद्युतीय संकेतमार्फत स्नायु प्रणालीको गतिविधिमा प्रभाव पार्ने उद्देश्यले प्रयोग गरिन्छ। नेपालमा यसको साझेदारका रूपमा वेब ट्रेडिङ कन्सर्न रहेको छ।

कम्पनीका अनुसार नेसा एक्ससिग्नलमा हात र खुट्टाका निश्चित स्थानमा इलेक्ट्रोड राखेर अत्यन्त न्यून तीव्रताका विद्युतीय संकेत प्रवाह गरिन्छ। यसको प्रयोग निद्राको गुणस्तर, दीर्घकालीन तथा स्नायुसम्बन्धी दुखाइ, तनाव, थकान, अत्यधिक सक्रिय मूत्राशय तथा चोटपटक वा उपचारपछि हुने पुनःस्थापना (Recovery and Rehabilitation) लगायतका क्षेत्रमा भइरहेको कम्पनीले जनाएको छ।

नेसा वल्र्डका अनुसार प्रविधिसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययन प्रकाशित भइसकेका छन् र थप अनुसन्धान जारी छन्। स्पेन तथा अन्य मुलुकका विश्वविद्यालय र स्वास्थ्य संस्थासँग सम्बन्धित अनुसन्धानमा यसको प्रयोग तथा प्रभावबारे अध्ययन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेसा प्रविधि विश्वका ४७ देशमा पुगेको छ तथा एक हजार पाँच सयभन्दा बढी क्लिनिक र ५० भन्दा बढी अस्पतालसँग सहकार्य रहेको छ।

नेपालमा प्रविधिको प्रवेशसँगै यसबारे स्वास्थ्यकर्मीलाई जानकारी र प्रयोगसम्बन्धी आधारभूत सीप प्रदान गर्ने कार्यक्रमसमेत आयोजना हुँदैछ।

नेसा एकेडेमिक अन्तर्गत हुने ‘नेसा गैर–आक्रामक न्युरोमोडुलेसन’ सम्बन्धी प्रारम्भिक प्रशिक्षण आगामी भाद्र २७ गते शनिबार काठमाडौं मेरियट होटलमा आयोजना हुनेछ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रशिक्षणमा स्पेनका कन्सल्टेन्ट न्युरोसर्जन डा. सान्टियागो गार्फियास प्रशिक्षकका रूपमा सहभागी हुने साझेदार कम्पनीले जनाएको छ। स्वास्थ्यकर्मी लक्षित यो प्रशिक्षणले नेपालमा न्युरोमोडुलेसनसम्बन्धी नयाँ प्रविधिबारे ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको बताएको छ।