भोटेकोसी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउने सहमति


काठमाडौँ । भोटेकोसी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्ने सहमति भएको छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले सरकारका तीनै तहले गरिरहेका कामलाई सहयोग र समन्वय गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रमा रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा गठन गरिएको उच्चस्तरीय संयन्त्रजस्तै बागमती प्रदेश तथा बाढी प्रभावित जिल्ला र स्थानीय तहमा पनि सर्वदलीय बैठक र संयन्त्र गठन गरेर विपद्को सामना गर्ने सहमति भएको जानकारी दिए ।

उनले बैठकमा सहभागी सबै राजनीतिक दल यस विषयमा सहमत भएको उल्लेख गर्दै अब प्रभावित जिल्लाका स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर काम गर्न केन्द्रीय तहबाट सहमति जुटेको बताए । उनकाअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म बन्ने यस्ता संयन्त्रले उद्देश्य सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई सहयोग गर्नेछ ।

राजनीतिक सहमति, तीनै तहका सरकारबीच समन्वय र प्रभावित समुदायसँग राष्ट्रिय एकता कायम गर्न पनि यस्तो संयन्त्र दीर्घकालीन रूपमा आवश्यक रहेको उनको भनाइ थियो । उनले पहिलो सर्वदलीय बैठकले गरेका १० वटा निर्णयको कार्यप्रगतिको पनि दोस्रो बैठकमा समीक्षा गरिएको जानकारी दिए । राजनीतिक दलले खोजी, उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै भएका प्रयासप्रति धन्यवाद व्यक्त गरेको र आगामी कामका लागि थप सुझावसमेत दिएको उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अहिले सरकारको सबैभन्दा पहिलो प्राथमिकता प्रभावितको उद्धार हुनुपर्ने बताए । त्यसपछि राहत र पुनःनिर्माणका काम अघि बढाउनुपर्ने उनका भनाई थियो ।

उनले विशेषगरी सुरुङभित्र फसेकाको उद्धारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने बताउँदै आवश्यक प्राविधिक क्षमता नभएको अवस्थामा अन्तरराष्ट्रिय विज्ञको सहयोग लिन सरकार ढिलाइ गर्न नहुने धारणा राखे । उनले केन्द्रमा गठन गरिएको जस्तै सर्वदलीय संयन्त्र प्रदेश र स्थानीय तहमा पनि निर्माण गरेर उद्धार, राहत र पुनस्थापनाका कामलाई सङ्गठित र प्रभावकारी बनाउनुपनमा बैठकले जोड दिएको बताए ।

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले विपद् व्यवस्थापनमा राजनीतिक दल, स्थानीय तथा प्रदेश सरकार र अन्तरराष्ट्रिय समुदायसँग थप प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले समन्वयको अभावमा राहत सामग्री एक ठाउँमा थुप्रिने र वास्तविक पीडितसम्म नपुग्ने अवस्था देखिएको उल्लेख गर्दै राहत वितरणलाई व्यवस्थित बनाउन सुझाब दिए ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले बैठकमा विपद् कुनै पार्टी वा सरकारको मात्र समस्या नभई समग्र देशको समस्या भएकाले सबै तहमा संयन्त्र बनाएर मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए ।