बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको छ ।

यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई र सदस्यहरुमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बौद्धनाथ समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ मा गठन गरेको हो । सन् १९७९ देखि बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो ।

यो विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र पनि हो । बौद्धनाथ महाचैत्य काठमाडौंँको सबै भन्दा बढी पर्यटकहरूले अवलोकन गर्ने स्थान मध्येको एक हो ।

समितिको काम कर्तव्यअन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिहरूसँग सम्पर्क र समन्वय गर्नेलगायतका काम गर्ने, गराउने जस्ता कर्तव्य तोकिदिएको छ ।

गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य कार्यहरू यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ महाचैत्य, यसको परिसर, शान्ति वाटिका, बुद्ध धर्म, यहाँ आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरूको प्रगति, उन्नति, प्रचारप्रसार आदि कार्य समितिले स्थापना कालदेखि गर्दै आएको छ ।

नेपालका विभिन्न प्रख्यात बौद्ध तीर्थस्थलमध्ये एक प्रमुख स्थल हो । तिब्बतलगायत विश्वभर प्रसिद्ध यो तीर्थस्थल पहिले खास्ती चैत्यको नामले चिनिन्थ्यो । आजभोली यसलाई बौद्धनाथ, बौद्ध स्तूप, खास्ती चैत्य पनि भन्ने गरिन्छ । यस स्तूप बौद्ध र हिन्द तीर्थयात्रीहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो ।

बौद्धनाथ स्तूप सम्भवतः विश्वकै ठूलो चैत्य नेपालको काठमाडौँ जिल्लामा अवस्थित छ । तिब्बती तीर्थयात्रीहरू तथा बौद्ध धर्मका अनुयायीहरू माने घुमाउँदै मन्त्र जप गर्दै यसको परिक्रमा गर्ने गर्दछन् ।

बौद्ध धार्मिक आस्था भएका तथा समस्त नेपाली र विश्व जगतको पर्यटकीय केन्द्र रहेको यस स्तूपको निकै महत्व रहेको छ । काठमाडौँ उपत्यकामा भएका ठूला स्तूपमा बौद्ध र स्वयम्भूका स्तूप हुन् । यी दुवै स्तूपको वास्तुकला झ्वाट्ट हेर्दा उस्तै देखिएपनि यसमा धेरै भिन्नता पनि रहेको छ ।

समितिको गठन भएपछि यस स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य हुँदै आएको छ । यस क्षेत्रको मूर्त सम्पदा महत्व पूर्ण भए जस्तै यहाँका अमूर्त सम्पदा महत्वपूर्ण छन् ।