रसुवाका जनप्रतिनिधिको गुनासोः ‘म आफैं वडा अध्यक्ष हुँ, तर केही गर्न सक्ने अवस्थामा छैन’


रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्दीप पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा उपचाररत गम्भीर हृदयाघातका बिरामीलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उच्चस्तरीय हृदयरोग केन्द्रमा लैजान सरकारसँग माग गरेका छन् ।

सामाजिक संजालमार्फत वडाध्यक्ष पौडेलले अस्पतालमा आएका बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले तत्काल विशेषज्ञ उपचार आवश्यक रहेको बताएका हुन् । दुर्गम भौगोलिक अवस्था र पर्याप्त एम्बुलेन्स तथा स्वास्थ्य पूर्वाधारको अभावका कारण बिरामीलाई सडकमार्गबाट लैजान कठिन भएकाले एयर लिफ्ट आवश्यक रहेको उनले बताएका छन् ।

उनले केन्द्र सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई तत्काल हेलिकप्टर उद्धारको व्यवस्था गर्न आग्रह गरेका छन् । ‘बिरामी मर्नुअघि नै उद्धार गर्नुपर्छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन,’ पौडेलले भनेका छन्।

यस्तो छ वडाध्यक्ष पौडेलेको अपील

सरकारसँग कडा माग रसुवाका जनतालाई मर्न नदिनुस् ! म आफैं वडा अध्यक्ष हुँ । केही गर्न नसक्ने अवस्थामा पुगेको छु। दिनदिनै जिउँदै मरेको जस्तो महसुस गरिरहेको छु। हाम्रो बसमा केही छैन – न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा । जिबजिबे ग्रामीण अस्पतालमा एन्टरोलेटरल मायोकार्डियल इन्फाक्र्सन (गम्भीर हृदयाघात) का बिरामी आउनुभएको छ। अवस्था अत्यन्तै नाजुक छ। तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा रेफर गर्नुपर्ने र भौगोलिक कठिनाइका कारण हेलिकप्टरमार्फत एयर इभ्याकुएसन अनिवार्य छ ।

सम्पर्कः ९८६१३७६५३०
सरकार, प्रदेश सरकार र सम्बन्धित सबै निकायलाई आक्रामक मागः
तुरुन्त सुनुवाइ होस् ! ढिलाइ सहन सक्दैनौं !

१. अहिले नै हेलिकप्टर उद्धार व्यवस्था गर्नुहोस्–बिरामी मर्नुअघि नै । एक मिनेट पनि ढिला नगर्नुहोस् !

२. रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स र आपतकालीन सवारी साधन तुरुन्तै खटाउनुहोस् । नत्र हामी दिनदिनै मर्दै जानेछौं !

३. जिबजिबे ग्रामीण अस्पताललाई तुरुन्त अपग्रेड गर्नुहोस्। म्यानपावर, उपकरण, औषधि र विशेषज्ञ सेवा नभएसम्म हामी चुप लागेर बस्दैनौं !

४. वैकल्पिक सडक तीन दिनदेखि माग गर्दा पनि सुनुवाइ नभएको छ। अहिले नै निर्माण सुरु गर्नुहोस्–होइन भने जवाफदेही को हो ?

५. स्वास्थ्य आपतकालीन अवस्थामा एयरलिफ्ट, राहत र उद्धारको स्थायी प्रणाली तुरुन्त बनाउनुहोस् । जनता मरेर मात्र होइन, जिउँदै मर्ने अवस्थामा पुगेका छन् !

६. स्थानीय प्रतिनिधि र जनताको आवाज सुन्नुहोस्। हामी असहाय छौं–यो अवस्था अब सहन सकिँदैन !

रसुवाका जनता दिनदिनै मर्दैछन् । बाँचेका थप रसुवालीलाई मर्न नदिनुस् ! सरकारले अहिले नै सबै कुराको व्यवस्थापन गर्नुस्–उद्धार, राहत, अस्पताल सुधार र सडक। नत्र जनताको रिस बढ्दै जानेछ । यदि कसैले हेलिकप्टर व्यवस्था गर्न, समन्वय गर्न वा यो आवाजलाई थप जोडदार बनाउन सक्नुहुन्छ भने अहिले नै गर्नुहोस् । यो सन्देश सेयर गर्नुहोस्। मौन नबस्नुहोस्। हरेक मिनेट जीवनको हो । हामी केही गर्न नसक्ने अवस्थामा छौं – अब सरकारले गर्नुपर्छ ।

सन्दीप पौडेल
वडा अध्यक्ष, कालिका गाउँपालिका, रसुवा