सुनसरी । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) ले गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिक तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
पीठले जारी गरेको विशेष शोक विज्ञप्ति एवं अपीलमार्फत बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै पीडित परिवारलाई यो असह्य पीडा सहन धैर्य, साहस र शक्ति प्राप्त होस् भन्दै भगवान् श्रीसीताराम एवं श्रीहनुमानजीसमक्ष प्रार्थना गरिएको छ।
विपद्को यस दुःखद् घडीमा पीडितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पीठले सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई उद्धार तथा राहत कार्यलाई थप तीव्र, प्रभावकारी र पारदर्शी बनाउन आग्रह गरेको छ।
पीठका पीठाधीश अनन्तश्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा महाराजश्रीको विशेष आह्वानमा पीठ परिवारले पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा यथासक्य आर्थिक सहयोग समेत गरेको जनाएको छ।
तर पीठले सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नराखी विपद्को पीडामा प्रत्यक्ष मानवीय साथ र सेवाभाव आवश्यक रहेको स्पष्ट गरेको छ। भक्तजन, शिष्य, साधक, धर्मप्रेमी, समाजसेवी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो सामथ्र्यअनुसार तन, मन, धन र सेवाभावका साथ बाढीपीडितको सहयोगमा जुट्न पीठले अपील गरेको छ।
पीठले पीडितको आँसु पुछ्नु, भोकालाई अन्न दिनु र निराश जीवनमा आशाको दीप जलाउनु नै अहिलेको सर्वोच्च मानवधर्म भएको उल्लेख गर्दै संकटमा परेका परिवारलाई एक्लो महसुस हुन नदिने गरी सामूहिक सहयोग र सहकार्य विस्तार गर्न आह्वान गरेको छ।
विज्ञप्तिमा विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई व्यवहारमै रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ। उद्धारमा प्राथमिकता, पीडितसम्म राहतको शीघ्र पहुँच र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि राज्यका संयन्त्रसँगै नागरिक तहबाट पनि निरन्तर सहयोग आवश्यक रहेको पीठको धारणा छ।
भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीठले विपद्को यस कठिन समयमा प्रार्थनासँगै परोपकार, संवेदनासँगै सेवा र दुःखसँगै आशा बाँड्न सबैलाई आह्वान गरेको छ।
पीठका अध्यक्ष श्री बाबुराजा ओझाद्वारा जारी विज्ञप्तिमा प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन र पीडित परिवारको जीवनमा पुनःआशा र सामान्य अवस्था फर्काउन सबै पक्षले आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया