चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुट्यो, भोटेकोसीमा फेरि बाढी आउने चेतावनी


रसुवा । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन् ।

ताल फुटेको चिनियाँ पक्षबाट सूचना आएकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए । पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोसी नदीमा मिसिन्छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।

तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।