नेपालका बाढी प्रभावितप्रति अखिल भारतीय विद्यार्थी परिषद्को समवेदना, भारतले सहयोग पठाएकोमा स्वागत


काठमाडौं । अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले नेपालका रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

एबीभीपीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिस प्रभावित भएको र धेरै परिवारले कठिन परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै विपद्को यस घडीमा नेपालका आफ्ना बन्धु–बान्धवसँग एकजुट भएर उभिएको जनाएको छ।

बाढीका कारण तीर्थयात्रीसहित कैयौँ मानिस सम्पर्कविहीन भएको तथा अस्पताल, विद्यालय, प्रहरी चौकी, पुललगायत महत्वपूर्ण सार्वजनिक संरचनामा क्षति पुगेको खबर अत्यन्त चिन्ताजनक रहेको एबीभीपीले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिई पीडितसम्म आवश्यक सहयोग शीघ्र पु¥याउनसमेत उसले आग्रह गरेको छ।

एबीभीपीले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरी पीडितसम्म आवश्यक सहायता तत्काल पु¥याउन सम्बन्धित निकायसँग अपिल गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरूको शीघ्र खोजी तथा सुरक्षित उद्धारका लागि प्रभावकारी पहल गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, भारत सरकारले नेपालका बाढी प्रभावितका लागि १० टन राहत सामग्री हवाई माध्यमबाट तत्काल पठाउने निर्णय गरेकोप्रति एबीभीपीले स्वागत गरेको छ। संकटको समयमा भारतबाट प्राप्त यो त्वरित सहयोगले प्रभावित समुदायसम्म आवश्यक राहत सामग्री पु¥याउन तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने एबीभीपीको विश्वास छ।

एबीभीपीका राष्ट्रिय महामन्त्री डा. वीरेन्द्र सिंह सोलंकीले नेपालमा आएको प्राकृतिक विपद्बाट भएको जनधनको क्षति अत्यन्त दुःखद् र हृदयविदारक रहेको बताएका छन्। उनले विपद्को यस कठिन घडीमा एबीभीपी नेपालका प्रभावित नागरिकसँग पूर्ण संवेदना र एकजुटताका साथ उभिएको उल्लेख गर्दै भारत सरकारद्वारा तत्काल राहत सामग्री पठाउने निर्णय प्रशंसनीय रहेको बताए।

उनले सम्पर्कविहीन सबै व्यक्तिको शीघ्र खोजी तथा सुरक्षित उद्धार होस् र राहत तथा उद्धार कार्यमार्फत प्रभावित परिवारले आवश्यक सहयोग चाँडो प्राप्त गर्न सकून् भन्ने कामना गरेका छन्। साथै, भारत र नेपालबीचको आत्मीय सम्बन्धको भावनाअनुरूप यस कठिन समयमा नेपालका नागरिकसँग आफूहरू साथमा रहेको सन्देशसमेत उनले दिएका छन्।

एबीभीपीले प्राकृतिक विपद्को समयमा मानवीय सहयोग र पारस्परिक ऐक्यबद्धतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।