काठमाडौं । तनहुँ क्षेत्र नं. २ का सांसद तथा वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले भोटेकोशी र त्रिशूलीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभामुखलाई संवाेधन गरि सार्वजनिक गरिएको खुला सन्देशमा सांसद न्यौपानेले पानी वरदान पनि हो, चेतावनी पनि भन्दै जलस्रोतको संरक्षण र वैज्ञानिक व्यवस्थापनसँगै यसको जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित, घाइते तथा सम्पर्कविहीन तीर्थयात्रीको शीघ्र उद्धार र उपचारको कामना गरेका छन्।
सरकारले घटनालगत्तै सुरक्षा संयन्त्र परिचालन, उपलब्ध साधनस्रोत र हेलिकप्टर प्रयोग तथा प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गर्नु सकारात्मक रहेको उल्लेख गर्दै उनले उद्धार, राहत र पुनःस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउन आग्रह गरेका छन्।
हिमताल विस्फोट, अत्यधिक वर्षा, हिमपहिरो वा पहिरोका कारण नदी थुनिनु तथा एक्कासी ठूलो मात्रामा पानी नदी प्रणालीमा प्रवेश गर्नु हिमाली बाढीका सम्भावित प्रमुख कारण रहेको उल्लेख गर्दै न्यौपानेले हिमताल तथा नदी प्रणालीको नियमित अनुगमन, छिमेकीसँग सूचना आदान–प्रदान, पूर्वसूचना प्रणाली विस्तार, जोखिमयुक्त बस्तीको पहिचान तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले नदी किनारमा अव्यवस्थित संरचना निर्माण रोक्न, स्थानीय समुदायलाई विपद् तयारीसम्बन्धी तालिम दिन तथा जलविद्युत् आयोजना र भौतिक पूर्वाधार निर्माणमा जलवायु परिवर्तन तथा हिमाली जोखिमलाई आधार बनाउनुपर्ने धारणा राखेका छन्। विपद् व्यवस्थापनलाई साझा राष्ट्रिय एजेण्डा बनाएर दीर्घकालीन रणनीति निर्माण गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद न्यौपानेले आफ्नो दुई महिनाको तलब–भत्ता प्रधानमन्त्री कोषमार्फत भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन्। उनले देश–विदेशमा रहेका सबैलाई सक्दो सहयोग गर्नसमेत आह्वान गरेका छन्। यसैबीच मेगाटेक इन्फ्रास्ट्रक्चरले भोटेकोशी बाढीपीडितका लागि रु. ५ लाख ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गरेको छ। उक्त कम्पनीले विगतमा मेलम्ची सुरुङ्ग तथा नागढुङ्गा सुरुङ्ग मार्ग जस्ता राष्ट्रिय गाैरवका आयाेजना न्याैपानेकै नेतृत्वमा सफलतापूर्वक निर्माण सम्पन्न गरेकाे थियाे ।
न्यौपानेले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आधिकारिक सूचना पालना गर्न, अफवाहबाट जोगिन तथा उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गर्दै पानीको शक्ति र जोखिमलाई बुझेर संरक्षण, सदुपयोग र वैज्ञानिक व्यवस्थापनमार्फत विकास र विपद् न्यूनीकरणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया