कर्णाली । कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुको प्रमुख श्रेय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई जाने बताए । पूर्ण खोप सुनिश्चितताका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपश्चात् गरिएको घोषणाको दिगोपना सबैभन्दा ठुलो चुनौती भएको बताउँदै उनले यसलाई सामना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
विकट भूगोल, आवश्यक स्रोत, साधन तथा जनशक्तिको अभावका बीचमा पूर्ण खोप सुनिश्चितताको प्रदेश घोषणा हुनु आफैँमा महत्त्वपूर्ण भएको उनको भनाइ छ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले काम गर्नेलाई प्रोत्साहन गर्न सकिए आगामी दिनमा थप प्रगति हुने धारणा राखे । कर्णालीको विकट भूगोलको भुईँ तहमा रहेर काम गर्ने स्वयंसेविकाको उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले आधारभूत तहमा काम गर्ने स्वास्थ्यकर्मीको योगदान, युनिसेफलगायतका साझेदार निकायको प्राविधिक सहयोग र मिडियाकर्मीको विशेष भूमिकाले कर्णाली पूर्ण खोप सुनिश्चितता घोषणा हुन सकेको टिप्पणी गरे ।
राष्ट्रिय खोप समन्वय समितिको सिफारिसअनुसार कर्णालीलाई दोस्रो पटक पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रदेश घोषणा गरिएको उनले जानकारी दिए ।
संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) नेपालका कर्णाली प्रदेश प्रमुख दीपक श्रेष्ठले लामो समयदेखिको अभियानले पूर्णता पाएकामा प्रसन्नता व्यक्त गरे ।

प्रतिक्रिया