बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा कमी हुन नदिन पूर्वराजा ज्ञानेन्द्रको आग्रह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्र प्रभावित भएको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

बुधबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले बाढीबाट बजार, बस्ती, सडक, पुल, विद्युत् आयोजना, भौतिक संरचना तथा खेतीपातीमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।

बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्य तत्काल तीव्र बनाउन उनले आग्रह गरेका छन्।

उनले प्राकृतिक विपत्तिको यस घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै विपद्मा परेकाहरूको उद्धार र राहतमा एकजुट हुन पनि शाहले अपील गरेका छन्।

सीमासँग जोडिएका छिमेकी मुलुकमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि त्रिदेशीय संयुक्त प्रयास आवश्यक रहेको उनले बताएका छन्।
शाहले नेपालसहित प्रभावित क्षेत्रमा शीघ्र उद्धार तथा राहतका लागि समन्वयात्मक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।