फरक विचार छ भने महाधिवेशनमा जाऔँ, अदालत होइनः प्रवक्ता चालिसे


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादको समाधान महाधिवेशन रोक्नु नभई महाधिवेशनलाई विश्वसनीय र निष्पक्ष बनाउनु रहेको बताएका छन् ।

सामाजिक संजालमार्फत प्रवक्ता चालिसेले कांग्रेसको नेतृत्व चयन गर्ने अधिकार पार्टीको महाधिवेशनलाई रहेको भन्दै त्यसका लागि अदालतको सहारा लिने प्रवृत्तिले पार्टीको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने बताएका हुन् ।
उनले पार्टीभित्र राजनीतिक विचार, नीति र कार्यक्रमका विषयमा फरक मत हुनु स्वाभाविक भएपनि पछिल्लो असन्तुष्टि व्यक्तिगत राजनीतिक भविष्यसँग जोडिएको देखिएको टिप्पणी गरेका छन्।

‘दलको नेताको चयन दलको अधिवेशनले गर्दछ । चाहे विशेष होस् वा नियमित । दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत जाने शैलीले दललाई न्याय गर्दैन,’ चालिसेले भनेका छन्।

कानुनी विवादको फैसला अदालतले गर्ने भए पनि लाखौँ कार्यकर्ताको मतबाट हुने फैसला अझ शक्तिशाली हुने उनको भनाइ छ। कांग्रेस विधानअनुसार चल्ने लोकतान्त्रिक पार्टी भएकाले विधान समयसापेक्ष नभए संशोधन गर्नुपर्ने तर विद्यमान विधानलाई भेला वा सहमतिको नाममा तोड्न नहुने उनले बताएका छन्।

केन्द्रीय समिति विस्तार गर्नुपर्ने भए विधानले दिएको अधिकार प्रयोग गरेर गर्नुपर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा विवाद भए सबै पक्षको सहभागितामा समिति बनाउनुपर्ने तथा निर्वाचनप्रति आशंका भए सबैलाई विश्वास हुने निर्वाचन समिति र पारदर्शी विधि तय गर्नुपर्ने चालिसेको सुझाव छ।

उनले महाधिवेशन निष्पक्ष बनाउन आवश्यक थप उपाय आपसी सहमतिमा तय गर्न सकिने बताएका छन्। विधानभित्रैबाट असन्तुष्टि र विवादको समाधान सम्भव रहेको भन्दै गलत अभ्यासले भविष्यमा नजिरको रूप लिएर थप समस्या निम्त्याउन सक्ने उनको चेतावनी छ।

‘अग्रज नेताहरूलाई आग्रह छ, हाल देखिएको समस्याको समाधान भनेको महाधिवेशन रोक्नु होइन, महाधिवेशनलाई विश्वसनीय बनाउनु हो,’ चालिसेले भनेका छन्।

फरक विचार वा नेतृत्वप्रति असहमति भए महाधिवेशनमा गएर आफ्नो धारणा राख्न र कार्यकर्ताको मत माग्नुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक प्रक्रियाबाट आएको निर्णयलाई स्वीकार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै गएको र अदालतमा विचाराधीन पुनरावलोकन कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर कांग्रेसको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चालिसेले बताएका छन्।

‘महाधिवेशन एक दिन गर्नैपर्छ। त्यसमा कोही जित्छ, कोही हार्छ। अनि फेरि प्रतिनिधि गलत भए, धाँधली भयो, नक्कली प्रतिनिधिबाट मतदान भयो भन्दै अदालत जाने हो भने यो चक्र कहिलेसम्म?’ उनले प्रश्न गरेका छन्।

चालिसेले नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन नसक्ने स्पष्ट पार्दै कांग्रेसलाई अदालतको विवादमा नभई कार्यकर्ताको विश्वासमा उभ्याउनुपर्ने बताएका छन्। कांग्रेसको  देउवा पक्षले मंगलबार १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पूरक निवदेन दर्ता गराएको छ ।