कहाँनिर चुक्यौँ हामी ?


उपेन्द्रप्रसाद पौडेल ।

गरिमाको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपी भनिएका सुमन थापाको प्रहरीसमक्षको बयानको भिडियो हेरेँ । उसले के भन्यो भन्ने कुराले त स्तब्ध बनायो नै, तर सँगसँगै उसको बयान शैलीले थप स्तब्ध बनायो । बलात्कार र हत्या जस्तो जघन्य अपराधको विवरण सुनाइरहँदा पनि उसको अनुहारमा पश्चात्तापको कुनै भाव देखिँदैन । अझ कतै कतै त हल्का हाँसो देखिन्छ । पूरै घटनालाई असाध्यै सामान्य कुरा सुनाएझैँ बेफिक्रीसँग उसले प्रस्तुत गरेको देखेपछि लाग्यो त्यो भिडियो केवल एउटा आरोपीको बयान मात्रै होइन ।

त्यो हाम्रो समाजतिर फर्काइएको एउटा ऐना हो । हामी कस्तो समाज निर्माण गर्दैछौँ ? सुमन एक दिनमा सुमन बनेको होइन भने, उसलाई त्यहाँसम्म पु¥याउने बाटो कहाँबाट सुरु भयो ? घरबाट ? विद्यालयबाट ? साथीहरूको संगतबाट ? इन्टरनेट र सामाजिक सञ्जालबाट ? महिलालाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोणबाट ? कि मानसिक र भावनात्मक समस्यालाई समयमै पहिचान नगर्ने हाम्रो प्रवृत्तिबाट ?

हामीले छोराछोरीलाई गणित सिकायौँ, अंग्रेजी सिकायौँ, कम्प्युटर सिकायौँ, प्रतिस्पर्धा गर्न सिकायौँ। राम्रो अंक ल्याउन, जागिर खान, पैसा कमाउन र सफल हुन सिकायौँ। तर अरूको पीडा महसुस गर्न कति सिकायौ ? ‘हुँदैन’ र ‘नाइँ’ को अर्थ बुझ्न कति सिकायौँ ? महिलालाई स्वतन्त्र र समान मानिसका रूपमा सम्मान गर्न कति सिकायौँ? रिस, अस्वीकार, यौनिक जिज्ञासा, आवेग र निराशालाई स्वस्थ तरिकाले व्यवस्थापन गर्न कति सिकायौँ ?

सायद हाम्रो शिक्षाको एउटा ठूलो कमजोरी यहीँ छ। हामीले बुद्धि विकासलाई शिक्षा ठान्यौँ, तर संवेदना, सहानुभूति, आत्मनियन्त्रण, जिम्मेवारी र चरित्रको विकासलाई पाठ्यक्रमको किनारामा राख्यौँ । त्यसैले यो केवल “सुमन कस्तो मानिस रहेछ?” भन्ने प्रश्न होइन । प्रश्न हामीतिर पनि फर्किन्छ । हाम्रो घरले के सिकाइरहेको छ ? हाम्रो विद्यालयले कस्तो मानिस बनाइरहेको छ ? हाम्रो समाजले केलाई सामान्य बनाइरहेको छ ? र हाम्रा बालबालिकाको भावनात्मक संसारभित्र के भइरहेको छ भन्ने कुरा हामीले कति बुझिरहेका छौँ ?

अपराधीलाई कानुनले सजाय देला। तर अर्को सुमन बन्न नदिन अदालतको फैसला मात्रै पर्याप्त हुँदैन। त्यसका लागि घरमा संवाद, विद्यालयमा जीवनोपयोगी र भावनात्मक शिक्षा, किशोरावस्थामा सहमति र सम्बन्धबारे स्पष्ट शिक्षा, मानसिक स्वास्थ्यमा सहज पहुँच, र समाजमा महिला तथा प्रत्येक मानिसप्रतिको सम्मानको संस्कार चाहिन्छ । गरिमाको घटनाले एउटा परिवारको संसार उजाडेको छ। कम्तीमा यसले हाम्रो समाजलाई आफ्नै अनुहार ऐनामा हेर्ने साहस देओस् । कतै हामी सफल बच्चा बनाउने दौडमा संवेदनशील मानिस बनाउन त बिर्सिरहेका छैनौँ ? म अवाक छु । र त्यो अवाकपनसँगै एउटा प्रश्नले पछ्याइरहेको छ कहाँनिर चुक्यौँ हामी ?