काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न माग गरेकी छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन र समाजमा डर पैदा गर्न नसकेको बताएकी हुन् ।
उनले बलात्कारका अभियुक्तलाई अब जेलमा पालेर राख्न नहुने बताइन् । उनले भनिन्, ‘बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखेको छैन । अपराधीले गरेको क्रूरता हेरेर कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी ३ वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त जस्ता नानीहरूको आत्माले न्याय र शान्ति पाउउने छैन ।’
उनले बलात्कारीलाई फाँसीको व्यवस्था, फाँसीको व्यवस्था गर्न नसकिए जेल लाने तर खानपिन गर्न नदिने अनि माथिका दुवै व्यवस्था लागू गर्न नसके, बलात्कारीले शरीरको जुन अंग प्रयोग गरेर बलात्कार गरेको हो, सोही अंगको छेदन गर्ने कानुन ल्याउन माग गरिन् ।

प्रतिक्रिया