सरकारको प्रभाव र विश्वास खस्किँदा समाजमा अस्थिरता बढ्योः अमरेश सिंह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै जाँदा समाजमा हत्या हिंसा बढेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछिको घटना र सप्तरीको बालिकाको हत्याको घटनाले मर्माहत बनाएको बताए ।

उनले सरकारसँग जनताको विश्वासको कुरा यी घटनामा जोडिएको बताए । उनले भने, ‘यो दुईवटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस् । या विभिन्न किसिमका आन्दोलन होस् । मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ । यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’

उनले अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।