तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपानेले आयोजना गरेको विज्ञान प्रदर्शनीमा ३३ सामुदायिक विद्यालयका करिब ४ सय विद्यार्थी सहभागी भएका छन्।
शुक्लागण्डकी नगरपालिकाको सभा हलमा शनिबार आयोजित प्रदर्शनीमा विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्ने उद्देश्यले एआई, ड्रोन सञ्चालनसम्बन्धी तालिम तथा विभिन्न प्रकारका रोबोट प्रदर्शन गरिएको थियो।
काठमाडौंँबाट आएका युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा सहभागी टोलीले रोबोट प्रदर्शन गर्नुका साथै विद्यार्थीका जिज्ञासाको जवाफसमेत दिएको थियो। रोबोट तथा आधुनिक प्रविधिको प्रत्यक्ष प्रदर्शनले विद्यार्थीलाई मनोरञ्जनसँगै व्यवहारिक ज्ञान हासिल गर्ने अवसर दिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले एआई, ड्रोन र रोबोटजस्ता प्रविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा नयाँ कुरा सिक्ने अवसर मिलेको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन्।
सांसद न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै विद्यार्थीलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको बताए । प्रविधिको क्षेत्रमा भइरहेको तीव्र विकाससँग विद्यार्थीलाई परिचित गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विद्यालय तहदेखि नै विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्न प्रदर्शनी प्रभावकारी हुने बताए ।
गाउँफर्कोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल सिग्देलले विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ प्रविधिसँग परिचित गराएको बताउँदै विद्यालयले पनि विज्ञान तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया