काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो ।
उनले भने, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोसिँदै छन् । त्यसमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब, हस्तक्षेप बढिरहेको छ ।’
यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए ।
उनले उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।
इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो ।
प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘गत भदौ २३, २४ गतेको विध्वंसले प्रतिक्रान्तिको भयानक विभीषिका हामीले देख्यौं । त्यसका समेत अनुभवहरूबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं ।’

प्रतिक्रिया