रास्वपालाई बहुमत दिएकोमा जनतामा पश्चाताप सुरु भइसकेको छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पाँच वर्षसम्म कुनै हालतमा नटिक्ने बताएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई शनिबार नगरकोटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई त्रास र डरमा राख्नुका साथै बहुमतको नाममा मनपरी गरिरहेको बालेन्द्र साह नेतृत्वको सरकार पाँच वर्ष नपुग्दै ढल्ने बताए ।

अराजकताबाट आएको शक्तिलाई लामो समय देशको जिम्मेवारी दिन नसकिने उनको भनाइ छ । अध्यक्ष ओलीले वर्तमान सरकारबाट लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको बताए ।

वर्तमान सरकारका गतिविधिका कारण जनतामा डर, त्रास र आतङ्क सिर्जना भएको उनको  भनाइ छ । कसैलाई जेल हाल्ने, बदनाम गर्ने, सम्पत्ति जफत गर्ने वा बैंक खाता बन्द गराउनेजस्ता गतिविधि भइरहेको बताउँदै अध्यक्ष ओलीले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने धारणा राखे ।