आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालन हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर नबसी आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भिर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको ९ औँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

एक्लो प्रयासबाट मात्रै विपद्लाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको उल्लेख गर्दै उनले यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद् व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण लगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्रसेवकहरु अझ व्यावसायिक भई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिति अनुरुपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्ने बताए ।

उनले पछिल्लो समय देशका विभिन्न स्थानहरुमा भएका जातिय, धार्मिक तथा साम्प्रादायिक किसिमका विवादका विषयहरुले सुरक्षामा थप चुनौती थपिएको बताउँदै यस्ता कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुले मानवअधिकारको पूर्ण पालना गर्दै कानूनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नुकासाथै सुरक्षा परिचालन र कारवाहीमा समेत सशस्त्र प्रहरी बल नेपालको कुनै कमीकमजोरी नहुने तरिकाले परिचालन हुन निर्देशन दिए ।
आफ्नो व्यक्तिगत आग्रह पूर्वाग्रहलाई थाँती राख्दै कमाण्डर तथा नेतृत्व वर्गसँग हातेमालो गरी संगठन विकासमा एउटै लक्ष्यकासाथ अघि बढ्न र आफ्नो कर्तव्य पथमा अविचलित भई लागि रहन निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने,‘म होईन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा वृत्ति विकासका अवसरहरु आफै सिर्जना हुँदै जान्छन् ।’

उनले सीमावासीसँगको सुमधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरुको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रुपमा जोड्नुपर्ने भन्दै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरु समेत संचालन गर्नुपर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आपद् विपद्मा परेका आम नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रुपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्य अनुरुपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमाण्डरहरुले दण्ड र पुरस्कारको नीतिलाई अझै कडाईकासाथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिए ।