रुसको भीषण हवाई आक्रमणमा कीभमा १६ जनाको ज्यान गयो


कीभ । रुसले युक्रेनको राजधानी कीभसहित आसपासका क्षेत्रमा बिहीबार राति गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । आक्रमणमा करिब ४० जना घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसी सेनाले घण्टौँसम्म गरेको आक्रमणमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्रसँगै ड्रोन प्रयोग गरिएको युक्रेनी वायुसेनाले जनाएको छ । आक्रमणका कारण कीभका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

वायुसेनाका अनुसार कीभ मुख्य निशाना रहे पनि देशभर २८ स्थानमा आक्रमण भएको थियो । आपत्कालीन सेवाका अनुसार राजधानीमा १५ जनाको मृत्यु भएको छ भने कीभ क्षेत्रको अन्य भागमा थप एक जनाको मृत्यु भएको छ ।

जेलेन्स्कीले आक्रमणलाई ‘विशाल हमला’ भन्दै रुसले लामो समयदेखि यसको तयारी गरेको दाबी गरेका छन् । उनका अनुसार रुसी पक्षले विभिन्न प्रकारका क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी नागरिक पूर्वाधारमा अधिकतम क्षति पुर्याउने उद्देश्यले आक्रमण गरेको हो ।

यता, रुसी रक्षा मन्त्रालयले भने आक्रमणमा युक्रेनको ‘फ्लेमिङ्गो’ क्रुज क्षेप्यास्त्रका पार्टपुर्जा उत्पादन गर्ने औद्योगिक क्षेत्रलाई निशाना बनाइएको दाबी गरेको छ । ड्रोन उत्पादन तथा भण्डारणस्थल, हतियार भण्डार र लजिस्टिक केन्द्रमा समेत प्रहार गरिएको मन्त्रालयको भनाइ छ ।’

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरको अभाव भइरहेका बेला रुसी पक्षले ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण बढाएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीले थप प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दै आएका छन् ।

यसैबीच, रुसले रातभरमा रुसका विभिन्न क्षेत्र, क्रिमिया तथा कालो र आजोभ सागरमाथि ७२६ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यसलाई युद्ध सुरु भएयताकै युक्रेनका सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक भनेको छ ।

कीभमाथि रुसी आक्रमण भएपछि युक्रेनसँग सीमा जोडिएका पोल्यान्ड र रोमानियालगायत देशले समेत आफ्नो हवाई सुरक्षा सतर्क बनाएका छन् । पोल्यान्डले सैन्य विमान, हवाई प्रतिरक्षा प्रणाली र राडार निगरानी सक्रिय बनाएको छ ।

रोमानियाले युक्रेनसँगको सीमाना नजिकै एउटा अज्ञात ड्रोन खसेर आगलागी भएको जनाएको छ । त्यस्तै, मोल्दोभाले समेत कम्तीमा एउटा अनधिकृत ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको जनाएको छ ।