काठमाडौँका चार विद्यालयले मागे नाम परिवर्तनको अनुमति


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित चार संस्थागत विद्यालयको नाम र दुई विद्यालयको स्थान परिवर्तनका लागि परेको निवेदनमाथि दाबी–विरोध भए ३५ दिनभित्र लिखित निवेदन दिन आग्रह गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले शुक्रबार सूचना जारी गरी नाम तथा स्थान परिवर्तनका लागि विद्यालयहरूले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम र स्थान परिवर्तनसम्बन्धी पत्रसहित निवेदन दिएको जनाएको छ।

सूचनाअनुसार काठमाडौं महानगरपालिका–६, बौद्धस्थित बुद्ध पशुपति इङ्गलिस बोर्डिङ स्कुलले ‘बौद्ध निकुञ्ज एकेडेमी’, महानगरपालिका–३०, ज्ञानेश्वरस्थित साई शिक्षा निकेतन काठमाडौंले ‘कुसुम विद्या सेकेण्डरी स्कुल’, मानसी एकेडेमीले ‘मानसी बाल बाटिका’ र बौद्धस्थित मञ्जुश्री सामुदायिक विद्यालयले ‘मञ्जुश्री एकेडेमी’ नाम कायम गर्न अनुमति मागेका छन्।

त्यस्तै, बुद्ध पशुपति इङ्गलिस बोर्डिङ स्कुलले बौद्धबाट कीर्तिपुर नगरपालिका–३ मा तथा साई शिक्षा निकेतन काठमाडौंले ज्ञानेश्वरबाट काठमाडौं महानगरपालिका–२९ मा स्थान परिवर्तन गर्न अनुमति मागेको महानगरले जनाएको छ।

यी विद्यालयको नाम तथा स्थान परिवर्तनसम्बन्धी कुनै दाबी–विरोध भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित शिक्षा विभागमा लिखित निवेदन पेश गर्न महानगरले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र दाबी–विरोध नआए निवेदकको मागबमोजिम प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले भने उक्त सूचनाले मात्रै विद्यालयको नाम, स्थान वा स्वामित्व परिवर्तन भएको नमानिने स्पष्ट पारेको छ।