जाजरकोट । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी दुई जना अझै बेपत्ता छन् ।
साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल जाजरकोटबाट नेपालगञ्ज रिफर गरिएका कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले सशस्त्र प्रहरीका सहप्रवक्त डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसअघि पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको थियो । उनीहरूसहित पहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक बेपत्ता छन् । पहिरोपछि घरबाट बाहिरिएका हरिस सम्पर्कविहीन भएका हुन् ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
पहिरोमा परी ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज तथा सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । पहिरोका कारण स्थानीय आठ वटा घरमा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया