७.७ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियामा ठूलो क्षति, ४७ जनाको मृत्यु


जकार्ता । पूर्वी इन्डोनेसियामा शनिबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का अनुसार भूकम्पपछि विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको छ। भूकम्पको केन्द्रबिन्दु नजिक रहेको नगेकेओ क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवा प्रभावित भएपछि उद्धार टोली अझै पुग्न सकेका छैनन्।

भूकम्पपछि देशका विभिन्न तटीय क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी छाल रेकर्ड भएका थिए। भूकम्प गएको करिब तीन घण्टापछि अधिकारीहरूले सुनामी चेतावनी हटाएका थिए।

पूर्वी इन्डोनेसियाको फ्लोरेस द्वीपस्थित सिक्का रिजेन्सीको प्रमुख सहर माउमेरेमा मात्रै २० जनाको शव फेला परेको उद्धार निकायका प्रमुख फतुर रहमानले बताएका छन्। उनका अनुसार ६ जना घाइते भएका छन् भने दुई जना भग्नावशेषमा फसेका छन्।

बीएनपीबी प्रमुख सुहार्यान्तोका अनुसार प्रभावित क्षेत्रका विभिन्न भवनमा मानिसहरू फसेका छन् भने पहिरोका कारण थुप्रै सडक अवरुद्ध भएका छन्।

नगेकेओमा करिब २ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ घर, गोदाम तथा सरकारी भवनमा क्षति पुगेको बीएनपीबीले जनाएको छ। केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै सडकमा यातायात जाम भएको छ।
नगेकेओ पुग्न सडकमार्फत गरिएको प्रयास पहिरोका कारण असफल भएपछि उद्धार टोली फेरीमार्फत त्यहाँ पुग्ने प्रयास गरिरहेको अधिकारीहरूले बताएका छन्।

पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इमानुएल मेल्कियादेस लाका लेनाका अनुसार भवन भत्किँदा सुतिरहेका कम्तीमा पाँच जनाको मृत्यु भएको छ।