काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहको वर्षदिन पुग्न लाग्दा पुराना राजनीतिक शक्ति पुनः सक्रिय हुनु र उदीयमान नयाँ शक्तिहरू अन्योलमा देखिनु गम्भीर अवस्था भएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले बाह्य रूपमा भूराजनीतिक तनाव बढ्दै गएको र आन्तरिक रूपमा लामो समयदेखि रहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टि जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘जेनजी विद्रोहको बर्षदिन पुग्नलाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिए जस्तो देखिनु बिडम्बनापूर्ण छ । अर्कोतिर, बाह्य रूपमा झन् मडारिदै गैरहेको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक र सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला बिष्फोट हुनसक्ने खतरा अरू प्रबल बन्दै गैरहेछ ।’
उनले यसका लागि पुराना शक्तिहरूले इख साँध्ने ढंगले हलो अट्काएर गोरू चुट्ने तरिका अपनाउने नभर्ई इमान्दारपूर्ण आत्मसमीक्षा गर्नु आवश्यक रहेको उल्लेख गरेक छन् ।
उनले भनेका छन्, ‘यस्तो वेला देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आआफ्नो भूमिका जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्नु जरूरी भएको छ । त्यसनिम्ति पुराना शक्तिहरूले इख साँध्ने ढंगले हलो अट्काएर गोरू चुट्ने तरिका अपनाउने हैन इमान्दारपूर्ण आत्मसमीक्षा गर्नु र नयाँ सत्ताधारीहरूले अहंकारपूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्ने हैन विनम्र र संयमपूर्ण ढंगले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नु श्रेयस्कर हुनेछ।’
भट्टराईले समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसंचालन गर्नु एकल दौड नभई रिले दौड भएको बताएका छन् । उनले भनेका छन्, ‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताकोनिम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ । स्मरण रहोस्, समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसंचालन गर्नु एकल दौड हैन रिले दौड हो ।’

प्रतिक्रिया