गार्डेन सिटी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन् ।
ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । इरानले भने उनको दाबी अस्वीकार गर्दै आएको छ ।
न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले मुस्कुराउँदै भने, ‘इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भू–भाग घोषणा गर्नेछु । यो सत्य हो ।’
वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै ‘स्टे«ट अफ हर्मुजइरानी थियो, इरानी हो र इरानी नै रहनेछ ।’ उनले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गरे ।
ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।
विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ । इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ ।
समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामीले नाकाबन्दी गरेका छौँ । हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन् ।’

प्रतिक्रिया