काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्व र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।
कांग्रेसको संस्थापन पक्षइतरको काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले थापा विशेष महाधिवेशनबाट सभापति बने पनि फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ पुगेपछि पराजित भएको र त्यसको असर पार्टीमा समेत परेको दाबी गरे ।
उनले भने, ‘गगन थापा अवैधानिक रूपमा विशेष महाधिवेशनबाट सभापति त भए। तर फागुन २१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्लाही क्षेत्र नम्बर ४ मा गएर खाल्डामा परे । फागुन २१ को चुनावबाट पार्टी पनि खाल्डामा पर्यो । पार्टीले पनि गगनको नेतृत्वमा नराम्रोसँग धोका पायो।’
उनले गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन रोकेर पार्टीमा एकता कायम गर्नका लागि आफूले गरेको प्रयासबारेमा जानकारी गराए ।
उनले त्यसका लागि आफूले महिना दिनसम्म केन्द्रीय समितिको बैठक लम्ब्याउने अवस्था बनेको स्मरण गर्दै त्यसका लागि आफूले अपजस खेप्नुपरेको समेत बताए । उनले विशेष महाधिवेशनले पार्टीमा फुट आउँछ भनेर तत्कालीन सभापति शेरबहादुर देउवाले भनेको कुरा सम्झेर आफूले काम गरेको जानकारी दिए ।
पार्टी एकताका लागि गाउँ गाउँ पुगेर नेताकर्तामा उत्साह थप्न सबैसँग आग्रह गर्दै नेता खड्काले भेलाले वर्तमान कार्यसमितिका पदाधिकारीलाई सच्याउन र एकतामा फर्कनका लागि दबाब दिने उल्लेख गरे ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति जनाउँदै त्यसबेला विस्तृत रूपमा अध्ययनसमेत नभएको भनी निर्वाचन आयुक्तहरूसँग प्रश्न गरे । उनले सर्वाेच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धमा पुनरावलोकनका लागि निस्सा दिएपछि आशा पलाएको बताए ।

प्रतिक्रिया