नेपाल प्रथम राष्ट्रिय अभियानको पोखरामा राष्ट्रबोध कार्यक्रम


पोखरा । मुलुकको आर्थिक आत्मनिर्भरता, उत्पादनमुखी विकास, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै ‘नेपाल प्रथम राष्ट्रिय अभियान’ले आफ्नो राष्ट्रवोध अभियानलाई थप विस्तार गरेको छ। ‘राष्ट्रिय दायित्वमा नेपाल प्रथम’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रममार्फत राष्ट्रिय नीति, आर्थिक दिशा, सुशासन र नागरिक दायित्वबारे बहस गर्दै आएको अभियानले पोखरामा राष्ट्रबोध कार्यक्रम सम्पन्न गरेको हो।

२०८३ श्रावण २९ गते पोखरामा आयोजित राष्ट्रबोध कार्यक्रममा डा. लता पराजुलीको संयोजकत्व रहेको थियो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिना, अभियानका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रामचन्द्र पोखरेल, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बराल तथा अभियानका केन्द्रीय सदस्य दिप्सन गुरुङसहित पोखराका सामाजिक, आध्यात्मिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

कार्यक्रममा पोखरास्थित विभिन्न विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस तथा प्रमुख विद्यालयका विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थी तथा युवा पुस्तालाई राष्ट्रको भविष्य निर्माणसँग जोड्ने, राष्ट्रिय विषयमा सचेत र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने तथा मुलुकको आर्थिक, सामाजिक र संस्थागत रूपान्तरणमा उनीहरूको भूमिकाबारे जागरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमलाई विशेष महत्त्वका साथ अघि बढाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय स्वाभिमान, नागरिक दायित्व, सुशासन, आर्थिक आत्मनिर्भरता, राष्ट्रिय एकता तथा राष्ट्रहितलाई विकासको मूल आधार बनाइनुपर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो। वक्ताहरूले देश निर्माण केवल सरकार वा कुनै एक संस्थाको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको धारणा राख्दै राष्ट्रिय हितलाई व्यक्तिगत तथा दलगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिए।

अभियानले आर्थिक रूपमा आत्मनिर्भर, संस्थागत रूपमा सबल, सुशासनयुक्त र राष्ट्रिय हितप्रति प्रतिबद्ध नेपाल निर्माणका लागि बौद्धिक बहससँगै नागरिक तहमा राष्ट्रवोधको अभियान आवश्यक रहेको बताउँदै आएको छ। विशेषगरी युवा तथा विद्यार्थीलाई राष्ट्र निर्माणको केन्द्रमा जोड्दै उनीहरूको ज्ञान, सीप, ऊर्जा र सिर्जनशीलतालाई देशकै विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने अभियानको धारणा छ।

पोखरामा सम्पन्न राष्ट्रबोध कार्यक्रमले पनि यही अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै समाजका विभिन्न क्षेत्र, शैक्षिक संस्था र युवा पुस्ताबीच राष्ट्रिय विषयमा संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने प्रयासका रूपमा लिइएको छ।
‘राष्ट्र सर्वोपरि’ भन्ने भावनालाई केन्द्रमा राख्दै राष्ट्रिय हित, स्वाभिमान, सुशासन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नागरिक तहबाटै साझा संकल्प आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।