काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा रहेको बताए । उनले वर्तमान अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर भएर बुझ्न आवश्यक रहेको धारणा राखे ।
‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ । देशको अस्तित्व खतरामा छ । देशको राष्ट्रियता खतरामा छ । यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ,’ उनले भने ।
कोइरालाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै पार्टीले कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले सबैलाई सधैँ मिलाएर हिँडिरहेको पार्टी हो । हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौँ । कसैको निरंकुशता नस्वीकार्ने पार्टी हो हाम्रो ।’
उनले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको भए पनि पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताए । कांग्रेस एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ,’ कोइरालाले भने ।

प्रतिक्रिया