काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।
बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले टोली एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाने बताए । उनले पछिल्लो समयका खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए ।
यसअघि क्यानले लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको थियो । सङ्घले नेपाली पुरुष एकदिवसीय टोलीको कप्तानका रूपमा लेग स्पिनर लामिछानेलाई चयन गरेको हो ।
१४ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया