‘जय नेपाल पार्टी’ दर्ताका लागि धवलशम्शेरले दिए निवेदन


काठमाडौं । डा. धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

शुक्रबार राणा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । दल दर्ताका लागि आयोगमा निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा स्वागत गर्ने बताए ।

उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए । जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएको छ । त्रिभुजलाई हिमाल, पहाड र तराई तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका रूपमा व्याख्या गरिएको उनले बताए । पार्टीको झण्डा सेतो रंगको हुने र त्यसमा रातो त्रिभुज रहने उनले जानकारी दिए ।

राणाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी दर्ता गरिएको बताए । उनले स्थानीय तहमा सेवा गर्न इच्छुक र इमानदारीपूर्वक काम गर्न चाहने नेपाली नागरिकलाई जय नेपाल पार्टीबाट निर्वाचनमा सहभागी हुन आवेदन दिन आह्वानसमेत गरे ।