शान्तिश्रीको तीज गीत ‘कमरु फिन्फिनी’


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ । तीज पर्वको मौलिकता, उमंग र सांस्कृतिक रंगलाई समेटिएको गीतमा सन्तोष परियार र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ ।

गीतमा दिनेशराज पुरीको शब्द, दीपकराज विश्वकर्माको लय तथा सन्जय श्रीपालीको संगीत संयोजन रहेको छ । तीजको मौलिक भाका, नाचगान र उत्सवको वातावरणलाई केन्द्रमा राखिएको गीतले नेपाली लोकसंस्कृतिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । ‘कमरु फिन्फिनी’को निर्देशन तथा कोरियोग्राफी प्रशान्त मगर र श्याम पटेलले गरेका हुन् ।

भिडियोमा आकर्षक नृत्यसँगै तीजको उल्लासपूर्ण वातावरणलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा चर्चित मोडल जुना विश्वकर्मा र सन्तोष परियारको अभिनय रहेको छ । भिडियोको छायांकन विशाल थापाले गरेका छन् भने सम्पादन प्रवीण भट्टले गरेका छन् । त्यस्तै, श्रृङ्गार सोनिका गजमेरले गरेकी छन् ।